कात्तिककाे बेमौसमी वर्षाले २० हजार हेक्टर धानबाली नष्ट, २ अर्बभन्दा बढीकाे नोक्सानी

सबैभन्दा धेरै प्रभाव कोशी प्रदेशमा


काठमाडाैँ । गत कात्तिक १५ देखि १७ गतेसम्म परेको बेमौसमी वर्षाले देशभरका धानबालीमा धेरै असर पारेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयको प्रतिवेदनले पुष्टि गरेको छ।

मन्त्रालयले तयार पारेकाे ‘बेमौसमी वर्षाका कारण कृषि क्षेत्रमा भएको क्षतिको प्रतिवेदन’का अनुसार २० हजार हेक्टर क्षेत्रफलमा उब्जाएको धान प्रत्यक्ष रूपमा क्षतिग्रस्त भएको छ।

यसले मुलुकको कुल धान उत्पादनमा करिब ७५ हजार ६ सय ७४ टनले कमी ल्याएको अनुमान छ। उत्पादनमा आएको सो ह्रासले झण्डै २ अर्ब ६६ करोड ४१ लाख रुपैयाँभन्दा बढी आर्थिक नोक्सानी भएको प्रतिवेदनमा उल्लेख गरिएको छ।

सबैभन्दा धेरै प्रभाव कोशी प्रदेशमा देखिएको छ, जहाँ झापा, मोरङ, सुनसरीसहित १४ जिल्लामा १२ हजार ४ सय ३२ हेक्टर क्षेत्रमा धानबाली नष्ट भएको छ। यसले प्रदेशमा मात्रै ५६ हजार टनभन्दा धेरै उत्पादन घटाएको छ। झापा देशकै सबैभन्दा प्रभावित जिल्ला बनेको छ, जहाँ करिब ४ हजार ३ सय हेक्टरमा खेतीबाली डुबानमा परेका छन्।

मधेश प्रदेशमा वर्षाको प्रभाव तुलनात्मक रूपमा कम देखिए पनि ८ जिल्लामा ४ सय हेक्टरभन्दा बढी क्षेत्रमा क्षति पुगेको प्रतिवेदनले देखाएकाे छ । बागमती प्रदेशमा १० जिल्लामा फैलिएको बेमौसमी वर्षाले ६ हजार हेक्टरभन्दा बढी धानखेती प्रभावित बनाएकाे प्रतिवेदनमा उल्लेख गरिएकाे छ ।

गण्डकी प्रदेशमा प्रभाव सीमित रहेर नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा मुख्य असर देखिएको छ। जबकि लुम्बिनी प्रदेशमा रुपन्देहीदेखि अर्घाखाँचीसम्मका जिल्लामा ५ सय ९६ हेक्टर धानबालीमा क्षति पुगेको मन्त्रालयले जनाएको छ।