काठमाडाैँ । राष्ट्रिय सभा सदस्य विष्णुबहादुर विश्वकर्माले बुल्गेरियाबाट हतियारसहितको कार्गो विमान नेपाल आएको विषयमा सरकारको जवाफ माग गरेका छन् ।
बुधवार विकास आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै उनले बुल्गेरियाबाट हतियारसहितको कार्गो विमान नेपाल आएको विषयमा सरकारको जवाफ माग गरेका हुन् ।
उनले जेन–जी आन्दोलनमा भदौ २४ गते घुसपैठ गरेर विध्वंश गर्ने टिओवी संस्थासहितका नक्कली नागरिकता रहेकाहरूलाई कहिले डिपोर्ट गरिन्छ ? भन्दै प्रश्न समेत गरे।
उनले नक्कली नागरिकता भएकाहरुलाई तत्काल डिपोर्ट गर्न पनि माग गरे । उनले भारतबाट आउने पेट्रोल पाइपलाइनबाट आउने गरेकोमा कमिसनका लागि अहिले ढुवानी गरेर ल्याउने प्रवृत्ति बढेको भन्दै सरकारको ध्यानाकर्षण गराए ।
राष्ट्रिय सभा सदस्य भूवनबहादुर सुनारले सरकार परिवर्तन भएर मात्रै नपुग्ने भन्दै कर्मचारीतन्त्रमा परिवर्तन आउन जरुरी रहेको बताए ।उनले प्रधानमन्त्री र मन्त्रीहरु जनताप्रति गम्भीर रहेको विश्वास गरेको भएपनि सरकारी सेवामा सुस्तता आइरहेको बताए ।
“सरकार मात्रै परिवर्तन भएर भएन । कर्मचारीमा पनि परिवर्तन आउनुपर्छ । सात दिनभित्र हुन्छ भने हुन्छ, हुँदैन भने हुँदैन भनेर आउनुपर्ने थियो । हाम्रा प्रधानमन्त्री, हाम्रा मन्त्रीहरु जनताप्रति असाध्यै गम्भीर हुनुहुन्छ भन्ने लागेको छ । तर जनताका कामहरू किन यसरी रोकिरहेका छन् ? किन यस्तो भइरहेको छ ? निराशा र आक्रोश हामीमा पनि पैदा भइरहेको छ,” उनले भने । उनले राष्ट्र विकासका लागि सबै एक भएर काम गर्न जरुरी रहेको बताए ।



प्रतिक्रिया दिनुहोस्