प्रभु बैंक कर्जा दुरूपयाेग काण्डः गुण एयरका अध्यक्ष शाक्य पक्राउ


काठमाडाैँ । केन्द्रीय अनुसन्धान ब्यूरोले बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ अन्तर्गत गुण एअरलाईन्सका अध्यक्ष राजेन्द्र शाक्यलाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार, प्रतिवादी कुसुम लामा लगायतको समूहविरुद्ध ठगी, आपराधिक विश्वासघात र नेपाल राष्ट्र बैंक ऐन, २०५८ अन्तर्गतको अनुसन्धान भइरहेको छ।

अनुसन्धानको क्रममा प्रभु बैंक लिमिटेडका कार्यकारी अधिकृत अशोक शेरचनले नेपाल राष्ट्र बैंकबाट जारी निर्देशन तथा प्रचलित कानून विपरीत कार्य गरी बैंकलाई आर्थिक नोक्सानी पुर्‍याएको तथ्य खुलेको थियो।

सो अपराध लुकाउन विभिन्न कम्पनीको नाममा करोडौं रुपैयाँ कर्जा प्रवाह गर्ने र कर्जाको दुरुपयोगमा संलग्न व्यक्तिहरूलाई समेत अनुसन्धानको दायरामा ल्याइएको छ।

उच्च अदालत, पाटन, ललितपुरबाट पक्राउ अनुमति प्राप्त गरी आज ललितपुर जिल्ला, ललितपुर महानगरपालिका वडा नम्बर ३, पुल्चोक बस्ने ६० वर्षीय शाक्यलाई पक्राउ गरी अनुसन्धान कार्य जारी रहेको छ।