लामिनार टायल्सद्वारा ‘१०० प्रतिशत भिट्रिफाइड’भन्दै कानुनविपरीत प्रचार


काठमाडौँ । लुम्बिनी सेरामिक्स लिमिटेडले उत्पादन गर्दै आएको लामिनार टायल्सले उपभोक्तालाई झुक्याउने गरी ‘१०० प्रतिशत भिट्रिफाइड ’ भनेर गलत प्रचार गरेको भेटिएको छ ।

कम्पनीले कानुन विपरीत ‘१०० प्रतिशत भिट्रिफाइड ’ भनेर प्रचार गरेको भेटिएको हो ।

कम्पनीको वेबसाइटदेखि विभिन्न ठाउँमा गरेको प्रचारप्रसारमा ‘१०० प्रतिशत भिट्रिफाइड टायल्स’ भन्ने गरेको छ ।

लामिनार टायल्स ‘१०० प्रतिशत भिट्रिफाइड’ भन्ने दाबी कानुनी र प्राविधिक रूपमा गलत देखिएको छ ।

उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार कुनै पनि वस्तुमा १०० प्रतिशत सही वा पूर्ण गुणस्तरको दाबी कानुनी रूपमा स्वीकार्य हुँदैन । ऐनले उपभोक्तालाई गुणस्तरीय वस्तुमा पहुँचको अधिकार सुनिश्चित गरेको छ भने भ्रामक दाबी गर्ने व्यवसायीलाई कारबाही गर्न सकिने व्यवस्था पनि छ ।

टायल्सलाई ‘१०० प्रतिशत भिट्रिफाइड’ भन्नु प्राविधिक रूपमै गलत व्याख्या मानिन्छ ।

भिट्रिफाइड टाइल्स भनेको एक प्रकारको सेरामिक टायल जसको पानी सोस्ने दर ०.५% भन्दा कम हुन्छ । यसले गर्दा यी टायलहरू लगभग पानी नसोस्ने र अत्यन्तै टिकाउ हुने मानिन्छ ।

लामिनार टायल्सले भने प्राविधिक र कानुनी रूपमै गलत प्रचार गरेकाे देखिएकाे छ ।

नेपालमा टायल्स उत्पादन बढ्न थालेपछि केही महिनाअघि नापतौल तथा गुणस्तर विभागअन्तर्गतको गुणस्तर निर्धारण समितिले प्राविधिक उपसमिति गठन गरेको थियो ।

‘नेसनल स्ट्यान्डर्ड फर सेरामिक टाइल्स’ नामक उक्त उपसमितिमा विभागका निर्देशक अनिल शाक्य, इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोकका ई.सञ्जीव महर्जन, नेपाल निर्माण व्यवसायी महासंघका प्रमोद लामिछाने, उद्योग प्रतिनिधि शुव्रत धिताल र हिमांशु अग्रवाल सदस्य रहेका थिए । शुव्रत धिताल लामिनार टायल्स उत्पादन गर्ने लुम्बिनी सेरामिक्सका अध्यक्ष हुन् ।

मापदण्ड बनाउन उपसमिति गठनमात्रै भएको र लामिनार टायल्स उत्पादन गर्ने लुम्बिनी सेरामिक्सका अध्यक्ष नै उपसमितिको सदस्य हुँदा समेत लामिनार टायल्सले भ्रम फैलाउने गरी प्रचार गरेको छ ।

विभागकी महानिर्देशक कुमारी ज्योति जोशी (भट्ट) ले हालसम्म नेपालमा ७ ओटा कम्पनीहरू सञ्चालनमा रहेको र हालसम्म कुनै कम्पनीलाई टाइलको गुणस्तर प्रमाणित नगरिएको बताइन् ।

उनले भनिन्,“विभागले गुणस्तर मापदण्ड तयार पारेपछि मात्रै प्रमाणिकरण प्रक्रिया अघि बढ्नेछ ।” उनका अनुसार कम्पनीहरूले हाल आफ्नै हिसाबले उत्पादन र बिक्री गर्दै आएका छन् ।

विभागले उनीहरूलाई मापदण्ड दिएपछि मात्र निगरानीमा राख्ने तयारी भइरहेको छ । महानिर्देशक भट्टले कसैले १०० प्रतिशत भिट्रिफाइड भनेको भए त्यो गलत हुने बताइन् ।

लुम्बिनी सेरामिक्स लिमिटेडले बर्दियाको गुलरियास्थित १२.५ बिगाह जमिनमा फैलिएको अत्याधुनिक कारखानाबाट करिब ५०० भन्दा बढी डिजाइनमा टाइल उत्पादन भइरहेको जनाएको छ ।

नेपालमा गुणस्तरको मापदण्ड तय गर्ने नेपाल गुणस्तर तथा नापतौल विभागले अहिलेसम्म देशभर उत्पादन हुने कुनै टाइलका लागि स्पष्ट मापदण्ड र प्रमाणिकरण प्रक्रिया लागु गरेको छैन ।

विभागले टायलका लागि तयार पारेको मापदण्डको मस्यौदामा भिट्रिफाइड टाइल बनाउन फेल्ट्क्वार जस्ता खनिजको मात्रा करिब ६० प्रतिशत हुनु पर्ने र १२०० डिग्री सेल्सियसमा ५५ मिनेटभन्दा बढी पोलेर निर्माण गर्नुपर्ने उल्लेख छ ।

प्रोफिलिन टाइलमा भने खनिजको मात्रा ३०–३५ प्रतिशत र तापक्रम ११ डिग्री सेल्सियसमा ३५–४० मिनेट पोलेर निर्माण गर्नुपर्ने उल्लेख छ । यद्यपी यो मास्यौदाकै चरणमा छ ।