काठमाडाैँ । नेपाली काँग्रेसका नेता नैनसिंह महरले वर्तमान सरकार जनताको आदेशले बनाएको टिप्पणी गरेका छन् ।
वर्तमान सरकारको वैधतामाथि पार्टीका नेताहरूले प्रश्न गरिरहेका बेला उनले जेनजी आन्दोलनमा जनताले दिएको आदेशअनुसार सरकार बनेको बताएका हुन् ।
नेता महरले नेपालको संविधानले सार्वभौमसत्ता जनतामा नीहित छ भन्ने स्पष्ट उल्लेख गरिएको स्पष्ट पार्दै सरकार त्यही जगमा निर्माण भएको तर्क गरे ।
उनले सो आन्दोलनमा घुसपैठ हुनु, राष्ट्रिय धरोहरहरु भत्काउने काम उचित नभएपनि जनताको आदेशलाई शिरोधार्य गरेर अघि बढ्नुको विकल्प नरहेको बताए । नेता महरले सरकारले पर्यात काम गर्न नसक्दाको परिणाम जेन–जी आन्दोलन भएको र त्यसले जनताको हितमा काम गर्न सबै राजनीतिक दलहरूलाई निर्देश गरेको समेत बताए ।
बुधवार काठमाडौंमा आफूले रचना गरेको गीत बन्छ बन्छ, मेरो देश बन्छ सार्वजनिक कार्यक्रममा बोल्दै उनले देश र जनताको पक्षमा राजनीति गर्नेहरुले पर्याप्त काम नगरेपछि आफूले देश बनाउने आशा उमार्न सो गीत रचना गरेको समेत बताए ।
कार्यक्रममा बोल्दै राष्ट्रिय गानका लेखक प्रदीप कुमार राई व्याकुल माईला, वरिष्ठ गीतकार भोलाप्रसाद रिजाललगायतका वक्ताहरुले मुलुकलाई अघि बढाउने दिशामा राजनीतिक पार्टीहरु प्रतिवद्ध भएर लाग्नुपर्नेमा जोड दिएका थिए ।



प्रतिक्रिया दिनुहोस्