‘अस्वस्थ’ बन्दै नेपालको माटो, ५४ प्रतिशतमा अम्लीय प्रकृति


काठमाडाैँ । नेपालमा माटोको गुणस्तर वर्षैपिच्छे खस्किँदै गएको तथ्य डिजिटल माटो नक्सा (डिएसएम) ले पुनः पुष्टि गरेको छ।

१२ औं विश्व माटो दिवसको सन्दर्भमा सार्वजनिक भएकाले विवरणले देशभरका खेतीयोग्य जमिनमा अम्लीयता बढ्दै गएको, प्राङ्गारिक पदार्थ घट्दै गएको र आवश्यक पोषक तत्वहरूको असन्तुलन झन् गहिरिँदै गएको देखाएको छ।

यस वर्ष ‘हेल्दी सोइल्स फर हेल्दी सिटिज्’ भन्ने अन्तर्राष्ट्रिय नारा तथा ‘स्वस्थ माटो, स्वस्थ गाउँसहर’ भन्ने नेपाली नारा तय गरिएको छ।  तर माटोको वास्तविक स्थितिले नाराको महत्व झन् बढाइदिएको छ।

डिएसएमका अनुसार परीक्षण गरिएका कुल माटोमध्ये ५४ प्रतिशत माटो अम्लीय प्रकृतिको पाइयो, जुन गत वर्षको ५३ प्रतिशतभन्दा अझ बढेको हो। पूर्वी नेपाल अम्लीय माटोका दृष्टिले सबैभन्दा प्रभावित देखिएको छ।

त्यस्तै, देशभरका अधिकांश जमिनमा प्राङ्गारिक पदार्थको कमी गम्भीर रूपमै रहेको छ। यस वर्ष नेपालका माटोमा प्राङ्गारिक पदार्थको औसत मात्रा २.५९ प्रतिशत मात्र पाइएको छ, जुन गत वर्षको २.७७ प्रतिशतभन्दा झरेको हो। तराई क्षेत्र यो कमीका दृष्टिले अझै संवेदनशील मानिएको छ।

नाइट्रोजन, फस्फोरस र पोटासजस्ता प्रमुख तत्वहरूमा पनि ठूलो असन्तुलन देखिएको छ। सूक्ष्म पोषक तत्वहरूको अवस्था त झन् कमजोर रहेको छ, विशेषगरी बोरोन, जिङ्क र मोलिब्डेनम अत्यन्त न्यून स्तरमा पाइएको रिपोर्टले बताउँछ। बोरोनको कमी पूर्वी नेपालमा सर्वाधिक छ भने सल्फरको अभाव मुख्यत: तराईमा देखिन्छ।

माटोको स्वास्थ्य खस्कनुका कारणहरूलाई हेर्दा आधुनिक कृषि पद्धतिमा अपनाइएका गलत अभ्यासहरू प्रमुख कारकका रूपमा पहिचान भएको देखिन्छ।

गोबर, कम्पोष्ट वा हरियो मलको न्यून प्रयोग, रासायनिक मलको असन्तुलित प्रयोग, विषादीको अत्यधिक प्रयोग, बालीचक्रको उपेक्षा तथा अवशेष जलाउने वा हटाइदिने प्रवृत्तिले माटोको संरचनामै हानि पुर्‍याइरहेको छ।

सहरी क्षेत्रमा कंक्रीट र सडकले खुला माटो ढाकिँदै जाँदा माटोको पानी सोस्ने क्षमता कमजोर हुँदै गएको र प्रदूषणले गुणस्तर झन् बिगारिरहेको विज्ञहरूको भनाइ छ। कृषि यन्त्रको अत्यधिक प्रयोगले माटो कडा हुने समस्या पनि गम्भीर बन्दै गएको छ। त्यसमाथि, बाढी र भूक्षयले हरेक वर्ष करिब १.७ मिलिमिटर माथिल्लो सतह बगाएर लैजाँदा उर्वराशक्ति स्वाभाविक रूपमा घटिरहेको छ।

माटोको बिग्रँदो अवस्थाकै बिच यस वर्ष डिसेम्बर ५  अर्थात भाेलि कृषि विभाग, राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्र, एफएओ, आडिइ नेपाल र नेपाल माटो विज्ञान समाजको सहकार्यमा माटो दिवस विभिन्न कार्यक्रमसहित मनाइँदै छ। काभ्रेको मण्डनदेउपुरमा विद्यार्थी र कृषकलाई माटो नमूना संकलन तालिम, माटो परीक्षण शिविर, माटो विज्ञहरूको सहभागितामा टेलिभिजन कार्यक्रम तथा १९ गते खुमलटारमा विशेष समारोह आयोजना गरिनेछ। समारोहमा कार्यपत्र प्रस्तुति, ‘वेस्ट टू म्यानूर’ विषयमा छलफल तथा डिजिटल माटो नक्साका आधारमा उत्कृष्ट कृषक र माटो विषयमा निरन्तर समाचार सम्प्रेषण गर्दै आएका एक पत्रकारलाई सम्मान गरिने कार्यक्रम छ।

नेपाल सरकारले माटो सुधारका लागि नीति, संरचना र कार्यक्रममार्फत काम गरिरहेको भए पनि परिणाम भने अपेक्षित रूपमै देखिन सकेको छैन। राष्ट्रिय मल नीति २०५८, कृषि नीति २०६१ र २०७७ मा सुरू गरिएको डिजिटल स्वायल म्याप अभियानले माटो व्यवस्थापनमा केही संरचनागत आधार तयार गरेको छ। तर रासायनिक मल र विषादीको अत्यधिक प्रयोग तथा शहरी र औद्योगिक फोहोरको दवावलाई रोक्न प्रभावकारी हस्तक्षेप अझै आवश्यक रहेको विशेषज्ञहरूको निष्कर्ष छ।

कृषि विभागका महानिर्देशक प्रकाश कुमार सन्जेलका अनुसार माटो जीवित र संवेदनशील विषय भएकाले यसको संरक्षण आजकाे अत्यावश्यक छ। उनका अनुसार ग्रामीण क्षेत्रमा असन्तुलित कृषि अभ्यास र शहरी क्षेत्रमा फोहोर तथा कंक्रीटिकरणले गर्दा माटोको गुणस्तर तीव्र रूपमा बिग्रिँदै गइरहेको छ। “गाउँको माटो जस्तै शहरको माटो पनि मूल्यवान छ,” उनले भने, “माटो संरक्षणबिना भविष्यका पुस्तालाई सुरक्षित खाद्य व्यवस्था सुनिश्चित गर्न सकिँदैन।”