काठमाडौँ । गुणस्तर मापदण्ड नबन्दै लामिनार टायल्सले आफूले मात्र नभइ अन्य टायल्सले समेत भिट्रिफाइड भनेर बेचेको आरोप लगाएको छ ।
‘लामिनार टायल्सद्वारा ‘१०० प्रतिशत भिट्रिफाइड’भन्दै कानुनविपरीत प्रचार’ शिर्षकमा प्रकाशित समाचारको खण्डन गर्दै कम्पनीका अध्यक्ष सुव्रत धितालले आफूले मात्र नभई नेपालको सबै स्वदेशी ब्रान्डले भिट्रिफाइड भनेर बेच्चे गरेको ‘चुक्ली’ लगाएका हुन् ।
अनुमति नपाएका कारण टायल कम्पनीले आफ्ना उत्पादनलाई भिट्रिफाइड भन्न समेत पाइदैन । लामिनारले भने १०० प्रतिशत भिट्रिफाइड भनेर प्रचार गरिरहेकाे छ । टक्सार न्युजले लामिनारकाे गैरकानुनी प्रचारबारे समाचार लेखेकाे थियाे ।
समाचारकाे खण्डन गर्नेक्रममा उनले भनेका छन्,“नेपालका सबै स्वदेशी ब्रान्डहरूले आफ्नो उत्पादनलाई भिट्रिफाइड टायल्स भनेर बजारमा बिक्रि-बितरण गर्दै आएका छन् । तपाईँको जानकारीको लागी केही ब्रान्डका हाइपरलिंकहरू तल प्रस्तुत गरेको छु (हेर्नुहाेस् खण्डनमा)।
अन्य ब्रान्डले भिट्रिफाइड भने पनि लामिनारले भने शतप्रतिशत भिट्रिफाइड भनेर प्रचार गरिरहेको छ (हेर्नुहोस् फोटो)।

नापतौल तथा गुणस्तर विभागले समेत कानुनअनुसार स्वीकृति नलिइ यसरी प्रचार गर्न नपाइने प्रष्ट पारिसकेको छ । याे समाचार प्रकाशित हुँदासम्म कम्पनीकाे वेबसाइटमा १०० प्रतिशत भिट्रिफाइड दाबी गरिएकाे विवरण कायमै छ ।
अध्यक्ष धितालले स्वयमले आफूहरू प्रमाणिकरणको प्रक्रियामा रहेको स्वीकार गरेका छन् ।
उनले भनेका छन्,“नेपाल गुणस्तर परिषदद्वारा सेरामिक टायलसम्बन्धी मापदण्ड (एनएस ६१७ः२०८२ ) पारित भइसकेको छ । लामिनार टायल उक्त उत्पादन प्रमाणीकरण प्रक्रियामा संलग्न भइसकेको छ र छिट्टै प्रमाणीकरण प्राप्त हुने आशा छ ।”
उनले कानुनी रुपमा प्रमाणीकरण नभएको स्पष्ट रूपमा स्वीकार गरेका छन् । कानुनअनुसार उत्पादित वस्तुलाई ‘१०० प्रतिशत ग्यारेन्टी’ समेत भन्न पाइदैन ।
उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार कुनै पनि वस्तुमा १०० प्रतिशत सही वा पूर्ण गुणस्तरको दाबी कानुनी रूपमा स्वीकार्य हुँदैन । ऐनले उपभोक्तालाई गुणस्तरीय वस्तुमा पहुँचको अधिकार सुनिश्चित गरेको छ भने भ्रामक दाबी गर्ने व्यवसायीलाई कारबाही गर्न सकिने व्यवस्था पनि छ ।
उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार कुनै पनि वस्तुमा १०० प्रतिशत सही वा पूर्ण गुणस्तरको दाबी कानुनी रूपमा स्वीकार्य नभएकाले लामिनार टायल्स कारबाहीको भागिदार हुने देखिएको छ ।
अध्यक्ष धितालको दाबीअनुसार कम्पनीले भारतको एउटा प्रयोगशालामा गराएको परीक्षणअनुसार ‘१०० प्रतिशत भिट्रिफाइट’ दाबी गरेको देखिएको हो । यो नेपालको सरकारी निकायले परीक्षण गरेर प्रमाणपत्र दिएको होइन ।
नापतौल तथा गुणस्तर विभागका अधिकारीहरूका अनुसार कुनै कम्पनीले आफैँले परीक्षण गरेर प्रचार गरेको दाबी नेपालको कानुनले चिन्दैन ।
लामिनार टायल्सका अध्यक्ष सुव्रत धितालले टक्सार न्यजुकाे सामाजिक सञ्जालमा ‘मेन्सन’ गरेर गरेकाे खण्डन
श्रीमान् सम्पादकज्यू,
लामीनार टायलसम्बन्धी आज प्रकाशित समाचारप्रति हाम्रो ध्यानाकर्षण भएको छ। प्रेषित समाचारमा देखिएका केही त्रुटिहरू र प्राविधिक तथ्यमा भएको भ्रमबारे हाम्रो धारणा अवगत गराउन यस पत्र लेखिएको हो।
पहिलो, लामीनार टायल्सद्वारा ‘१०० प्रतिशत भिट्रिफाइड’ भनेर गरिएको प्रचार उपभोक्तालाई भ्रमित गर्ने उद्देश्यले गरिएको होइन। हाम्रो टायल दिल्लीस्थित National Accreditation Board for Testing and Calibration Laboratories (NABL) मान्यता प्राप्त Delhi Test House मा परीक्षण गराइएको हो, जहाँ पानी सोस्ने औसत दर 0.046% रहेको पुष्टि भएको छ।
(हेर्नुहोस्– Delhi Test House Report, पृष्ठ ३, क्र. स. १३: Average Water Absorption Result: 0.046%)
दोस्रो, तपाईंले समाचारमा उल्लेख गर्नुभएको “भिट्रिफाइड टायलको पानी सोस्ने दर 0.5% हुनुपर्छ” भन्ने value प्राविधिक रूपमा गलत छ।
नेपाल गुणस्तर NS 617:2082 का अनुसार,
- Group B Ia – Ceramic Fully Vitrified Tiles को पानी सोस्ने दर 0.08% वा सोभन्दा कम हुनुपर्छ।
- तपाईंले उल्लेख गर्नुभएको 0.5% पानी सोस्ने दर Group B Ib – Ceramic Porcelain Tiles को श्रेणीमा पर्दछ, जसको दायरा 0.08% भन्दा बढी र 3% सम्म हुन्छ।
(हेर्नुहोस् NS 617:2082, पृष्ठ ४, #४ Classification)
तसर्थ, लामीनार टायलहरू लगभग पानी नसोस्ने, अत्यन्त टिकाउ र प्राविधिक रूपमा Fully Vitrified कै स्तरका भएको हुँदा यसलाई “भ्रामक दाबी” भन्न मिल्दैन।
तेस्रो, टायल मापदण्ड निर्माण गर्ने उपसमितिमा म सहित सबै नेपाली ब्रान्डका प्रतिनिधि समावेश भएका छौँ—समाचारमा उल्लेख गरेझैं केवल लामीनारको मात्र प्रतिनिधित्व छैन।
यो तथ्य तपाईंले पारित भएको संलग्न 617:2082 को पुस्तिका बाट पुष्टि गर्न सक्नुहुन्छ।
नेपाल गुणस्तर परिषदद्वारा सेरामिक टायलसम्बन्धी मापदण्ड NS 617:2082 पारित भइसकेको छ (attached PDF)। लामीनार टायल उक्त उत्पादन प्रमाणीकरण प्रक्रियामा संलग्न भइसकेको छ र छिट्टै प्रमाणीकरण प्राप्त हुने आशा छ।
हाम्रो उत्पादनलाई बजारमा चिनाउन चलनचल्तीका प्राविधिक नाम नै प्रयोग गर्नुपर्छ—किनकि अन्य विकल्प नाम छैनन्। उदाहरणका लागि, लुम्बिनी सेरामिक्स लिमिटेडले Cresta ब्रान्ड अन्तर्गत Group B Ib, Ceramic Porcelain Tiles उत्पादन गरी सोहि चिनारीमा बिक्री गर्दै आएको छ, र यसलाई Vitrified भनी कहिल्यै दाबी गरिएको छैन।
यसबाहेक, “Vitrified/GVT (Glazed Vitrified Tiles)” भनेर उत्पादन बेच्नेमा लामीनार एक्लै ब्रान्ड होइन। नेपालका सबै स्वदेशी ब्रान्डहरूले आफ्नो उत्पादनलाई Vitrified tiles भनेर बजारमा बिक्रि-बितरण गर्दै आएका छन् । तपाईको जानकारीको लागी केहि ब्रान्डका hyperlink हरू तल प्रश्तुत गरेको छु।
https://facebook.com/share/1abySLfX9C/?mibextid=wwXIfr
https://facebook.com/share/v/14RJ3oJvHrK/?mibextid=wwXIfr
https://facebook.com/share/1FuwhZtdTF/?mibextid=wwXIfr
हामीमध्ये कसैले पनि अहिलेसम्म NS Product Certification प्राप्त गरेको छैन, न हामीले त्यसको दाबी गरेको छौं।
यदि तपाईँले समाचार प्रकाशन अघि कम्पनीको धारणा बुझ्नका लागि हामीलाई अवसर दिनुभएको भए, हामी तत्काल पूर्ण विवरण उपलब्ध गराउन तयार थियौँ।
तपाईलाई अझै पनि कुनै जिज्ञासा वा स्पष्टिकरण आवश्यक भएमा हामी तत्पर छौँ।
समाचारमा प्रस्तुत त्रुटिपूर्ण जानकारीका कारण यो नुतन स्वदेशी उद्योगको छविमा धक्का लाग्ने र सर्वसाधारणमा गलत संदेश प्रवाह भई ऊद्योग धरासाही हुने गम्भीर चिन्ता व्यत्त गर्दै—उक्त समाचारको औपचारिक खण्डन गरिदिनुहुन हार्दिक अनुरोध गर्दछु।



प्रतिक्रिया दिनुहोस्