काठमाडाैँ । काठमाडौँ महानगरपालिकाले कर्मचारी र जनप्रतिनिधिको पोषण अवस्था, आहार व्यवहार र जीवनशैलीबारे सर्वेक्षण सुरू गरेको छ।
महानगरपालिकाको कृषि तथा पशुपन्छी विभागले मंसिर १६ गतेदेखि काठमाडौँ प्लाजाको दक्षिणतर्फको भवनको माथिल्लो तलामा यो कार्यक्रम सञ्चालन गरिरहेको छ। सर्वेक्षण मंसिर १६ देखि २६ गतेसम्म चल्नेछ।
सर्वेक्षणको तालिका अनुसार मंसिर १६–२१ गते कर्मचारी, २२ गते कर्मचारी र जनप्रतिनिधि, र २३–२५ गते जनप्रतिनिधिका लागि समय छुट्टाइएको छ। २६ गतेसम्म आफू छुटेका सबै सहभागी गराउने व्यवस्था गरिएको विभागका प्रमुख नुरनिधि न्यौपानेले जानकारी दिए ।
न्यौपानेका अनुसार सहरी जीवनशैली क्रमशः निष्क्रिय बन्दै गएको र यसले मुटु, मधुमेह, क्यान्सर, श्वासप्रश्वाससम्बन्धी तथा दीर्घ रोगको जोखिम बढाएको छ। त्यसैले यस्ता रोगबाट बच्ने उपाय खोज्न र कार्यस्थलमा स्वास्थ्य प्रवर्द्धनको नीतिगत सिफारिस तयार पार्न सर्वेक्षण गरिएको हो।
सर्वेक्षणमा सहभागीको उचाइका आधारमा तौल मापन, उमेर र लिङ्गका आधारमा बीआइए गरी बडी फ्याट, भीसेरल फ्याट इन्डेक्स, फ्याट फ्री मास र टोटल बडी वाटरको प्रोफाइल तयार गरिनेछ। यसमा कामको प्रकृति अनुसार मोटोपना, रक्तअल्पता र जीवनशैलीका सूचकसमेत समावेश हुनेछ।
जीवनशैली र आचरणबारे शारीरिक व्यायाम, कामको तनाव, धुमपान तथा मद्यपान, सुत्ने समय, डिजिटल ग्याजेटमा बिताउने समय र कार्यस्थलको वातावरणसम्बन्धी विवरण संकलन गरिनेछ। साथै, मधुमेह र हेमोग्लोबिन परीक्षणमार्फत रक्तअल्पता जाँच गरिनेछ। खानेकुराको रुचि र आहार मूल्याङ्कनसमेत गरिनेछ।
भर्टेक्स फुड्सका अनुसन्धान व्यवस्थापक प्रतीक निरौलाका अनुसार, स्थानीय स्तरमा उत्पादन भएका खानेकुरामा प्राकृतिक तत्व धेरै पाइने र स्वास्थ्यका लागि लाभदायक हुने भएकाले यस्ता खानेकुरा तुलनात्मक रूपमा सस्तो पनि पर्छ। आफ्नो स्वादअनुसार तयार पारेर खानेकुरा खाने हो भने स्वास्थ्यमा सकारात्मक असर पर्ने उनी बताउँछन्।
महानगरपालिकाले यो परीक्षणको नतिजा नागरिकसम्म पु¥याएर आहार र जीवनशैली सुधारका कार्यक्रमहरू लागू गर्ने योजना बनाएको छ।



प्रतिक्रिया दिनुहोस्