वल्र्ड एक्स्पो २०२५मा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग गर्दै जेनजी प्रतिनिधिहरू मन्त्रालयमा


काठमाडौँ । जापानमा जनवरी २०२५ मा पाँच दिनसम्म सञ्चालन गरिएको वल्र्ड एक्स्पोमा भ्रष्टाचार भएको आरोप लगाउँदै जेनजीका युवा प्रतिनिधिहरू शुक्रबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय पुगेका छन् ।

आयोजनासँग सम्बन्धित निर्णय प्रक्रियामा सरकारी कर्मचारीले कर्तव्यच्युत भएर एकतर्फी ढंगले निर्णय लिएका कारण अनियमितता भएको उनीहरूको दाबी छ ।

जेनजीका प्रतिनिधि अविन गुरुङले एक्स्पोमा अनियमितता भएको सूचनापछि आफूहरूले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिइसके पनि सुनुवाइ नहुँदा मन्त्रालयमा आएर स्पष्टीकरण माग्न बाध्य भएको बताए ।

“वल्र्ड एक्स्पो जापानमा अनियमितता भएको थाहा पाएपछि अख्तियारमा ठाडो उजुरीसमेत दिएका थियौँ, तर कुनै सुनुवाइ नभएपछि आज यहाँ आएर के–कस्तो कमजोरी भयो भन्ने बुझ्न खोजेका हौँ,” गुरुङले भने ।

अर्का प्रतिनिधि अमर सापकोटाले सरकारी कर्मचारीले आफ्नो कर्तव्य पूरा नगरी गैरजिम्मेवारीपूर्वक एक्लौटी निर्णय गरेको आरोप लगाए ।

उनका अनुसार निरन्तर पत्राचार, ठाडो उजुरी र पूरक उजुरी दिएपनि कुनै निष्कर्ष ननिस्किनु गम्भीर विषय हो । “दुवै पक्षलाई बोलाएर छानबिन हुनुपर्नेमा त्यसो हुन नसक्नु चिंताजनक छ,” सापकोटाले भने ।

जेनजी प्रतिनिधिहरूले वल्र्ड एक्स्पोमा नेपालको प्रस्तुति देशको गौरवमा आँच आउने गरी गरिएको आरोपसमेत लगाएका छन् । उनीहरूले शीघ्र र निष्पक्ष छानबिनका लागि मन्त्रालयलाई आग्रह गरेका छन् ।