११ औं महाधिवेशनको पूर्वसन्ध्यामा एमालेको रक्तदान कार्यक्रम


काठमाडाैँ । पार्टीको ११औं महाधिवेशनको पूर्वसन्ध्यामा नेकपा (एमाले) ले काठमाडौँमा वृहत रक्तदान कार्यक्रम सञ्चालन गरेको छ।

शुक्रबार पार्टी केन्द्रिय कार्यालय च्यासलमा उपत्यका विशेष प्रदेश कमिटीको आयोजनामा सम्पन्न कार्यक्रममा नेता, कार्यकर्ता, र सर्वसाधारणसहित सयौं सहभागी भएका थिए।

मध्यान्ह १२ बजेदेखि सुरूभएको रक्तदान कार्यक्रम अपरान्ह ४ बजेसम्म निरन्तर सञ्चालन भयो। कार्यक्रममा वरिष्ठ नेता, केन्द्रिय सदस्य, प्रदेश कमिटीका पदाधिकारी तथा काठमाडौँ उपत्यकाका विभिन्न पालिकाका जनप्रतिनिधिहरूले सक्रिय सहभागिता जनाएका थिए। उनीहरूले मानवीय सेवालाई पार्टीको महत्वपूर्ण अभियानका रूपमा अघि बढाइएको बताए।

एमालेका नेताहरूका अनुसार रक्तदान कार्यक्रम महाधिवेशनको तयारीसँग जोडिएको सामाजिक पहल हो। यही मंसिर २७, २८ र २९ गते भृकुटीमण्डपमा हुने ११औं राष्ट्रिय महाधिवेशनलाई भव्य र ऐतिहासिक बनाउन पार्टीले देशभर विविध सामाजिक तथा मानवीय कार्यक्रमहरू सञ्चालन गरिरहेको छ।

महाधिवेशन नजिकिँदै जाँदा पार्टीले “जनताको जनवादः समृद्ध नेपालको बलियो आधार” भन्ने नाराका साथ संगठन सुदृढीकरण, नीति तथा विचारको बहस र नेतृत्व चयन प्रक्रियालाई तीव्र बनाएको छ। यसै सन्दर्भमा आयोजित रक्तदान जस्ता कार्यक्रमले पार्टीको सामाजिक छवि थप उज्यालो बनेको नेताहरूको दाबी छ।