बैंकले बौद्धिक सम्पतिलाई धितो मान्यता दिएर चलचित्रमा लगानी गर्ने व्यवस्था गरिनुपर्छःअध्यक्ष दाहाल


काठमाडाैँ । चलचित्र विकास बोर्डका अध्यक्ष दिनेशराज दाहालले चलचित्र क्षेत्रमा बैंक ऋण तथा वैदेशिक लगानी बढाउन सहज हुनेगरी चलचित्र विधेयकलाई समृद्ध बनाउन आग्रह गरेका छन् ।

शुक्रवार राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बैठकमा चलचित्र विधेयकमाथिको छलफलमा बोल्दै अध्यक्ष दाहालले यस्तो आग्रह गरेका हुन् ।

प्रष्ट नीतिको अभावमा चलचित्र क्षेत्रले समस्या झेल्नुपरेको कारण विधेयकलाई छिटो टुंगोमा पुर्‍याउनुपर्नेमा उनको जोड छ ।  उनले बैंकहरूले चलचित्रलाई बौद्धिक सम्पती धितोका रूपमा मान्यता नदिँदा उद्योग नै जोखिममा परेको बताए ।

उनले चलचित्रमा लगानी जोखिमपूर्ण हुने सोचका कारण बैंकहरुले ऋण दिन आनाकानी गर्ने अवस्था रहेको बताउँदै यसलाई केही सरल बनाउनुपर्नेमा जोड दिए । उनले चलचित्रकर्मीहरूको लागि चलचित्र नै बौद्धिक सम्पती रहेको उल्लेख गर्दै बैंकले धितोको रूपमा स्वीकार गर्नुपर्नेमा जोड दिए ।

उनले चलचित्र पूर्णरूपमा सांस्कृतिक सामग्री मात्र नभई सञ्चारको शक्तिशाली माध्यम भएको उल्लेख गर्दै मातृभाषामा बनेका चलचित्रका लागि बोर्डले सेन्सर शुल्क हटाउनेगरी काम गरिरहेको पनि बताए । उनले चलचित्र क्षेत्रमार्फत पर्यटन प्रवद्र्धनमा टेवा पुग्नेगरी सरोकारवालाको सुझावहरू समेत समेटेर थप समृद्ध बनाउनुपर्नेमा जोड दिए ।