काठमाडाैँ । राजनीतिक दलहरूले सरकारले आगामी निर्वाचनतर्फ पूर्ण ध्यान दिनुपर्ने धारणा राखेका छन्।
शुक्रबार प्रधानमन्त्री सुशीला कार्कीले आह्वान गरेको सर्वपक्षीय बैठकमा सहभागी दलहरूले मुलुकलाई जारी जटिल राजनीतिक अवस्थामाबाट सामान्यतर्फ लैजान निर्वाचनका लागि आवश्यक वातावरण निर्माणमा सरकार जुट्न सुझाव दिएका हुन्।
नेपाली कम्युनिष्ट पार्टीका नेता प्रकाश ज्वालाका अनुसार बैठकमा सुरक्षा निकायहरूले देशको समग्र सुरक्षा अवस्थाबारे ब्रिफिङ गरे भने निर्वाचन आयोगले तयारीको प्रगतिबारे जानकारी प्रस्तुत गरेका थियाे। शान्ति–सुरक्षाको पूर्ण वातावरण नबनेको भन्दै विशेष रणनीति सहित काम गर्नुपर्ने सुझाव दलहरूको रहेको ज्वालाले बताए।
उनले भने, “यो चुनावी सरकार हो, त्यसैले चुनावमै केन्द्रीत भएर अघि बढ्नुपर्छ। अनावश्यक रूपमा ध्यान अन्यत्र नपुर्याई शान्ति–सुरक्षाको वातावरण थप बनाइदिई निर्वाचनमा केन्द्रित हुनुपर्ने सुझाव दिएका छौँ।” प्रधानमन्त्रीले पनि निर्वाचन सफलतापूर्वक गराएर सत्ता नयाँ सरकारले सम्हाल्ने वातावरण बनाउन सरकार आतुर रहेको बताइन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ सोबिता गौतमले संविधानको संरक्षण र विधिको शासन स्थापित गर्न निर्वाचन अपरिहार्य भएको दलहरूको साझा धारणा बैठकमा प्रस्तुत भएको बताइन्।
घोषित मितिमै स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्ने सरकारको प्रतिबद्धता पनि बैठकमा व्यक्त भएको उनको भनाइ छ। “संविधानको ट्र्याकमा फर्कन निर्वाचन आवश्यक छ। आयोगदेखि राजनीतिक दल र सुरक्षा निकाय सबैले त्यसका लागि प्रतिबद्धता जनाएका छन्। निर्वाचनको वातावरण बन्दै गएको छ,” उनले भनिन्।
त्यसैगरी, सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले समयमै निर्वाचन सम्पन्न गर्ने विषयमा सरकार र राजनीतिक दलहरू एकमत रहेको बताए। सरकारले आवश्यक वातावरण निर्माण गरेपछि निर्वाचनमा सहभागी हुन सबै दल तयार रहेको धारणा बैठकमा आएको मन्त्री खरेलले बताए।
उक्त बैठकमा राजनीतिक दलका प्रतिनिधि, सुरक्षा निकायका प्रमुख, निर्वाचन आयोगका अधिकारीहरू साथै प्रधानमन्त्रीसँगै केही मन्त्रीहरूको समेत उपस्थिति रहेको थियो।



प्रतिक्रिया दिनुहोस्