उपत्यकाका नदी सफा गर्न धेरै प्रशोधन प्लान्ट बनाउने योजनामा छौँः मन्त्री घिसिङ


काठमाडाैँ । शहरी विकासमन्त्री कुलमान घिसिङले काठमाडौँ उपत्यकाका नदी सफाइका लागि आवश्यक पर्ने फोहोर पानी प्रशोधन (वेस्ट वाटर ट्रीटमेण्ट) प्लान्टहरूको संख्या बढाइने स्पष्ट पारेका छन् ।

शनिबार थापाथलीस्थित वागमती करिडोरमा निर्माणाधीन प्रशोधन प्लान्टको निरीक्षण गर्दै मन्त्री घिसिङले वागमती, विष्णुमती, धोबीखोला लगायतका नदीलाई सफा बनाउन ठूलो क्षमताका प्रशोधन प्लान्ट अनिवार्य रहेको बताएका हुन्। उनका अनुसार उपत्यकाका सबै नदी सफा गर्न दैनिक करिब ६ सय एमएलडी क्षमताको प्लान्ट आवश्यक पर्छ, तर हाल निर्माण भइरहेका संरचनाहरू सो क्षमताको करिब २० प्रतिशत मात्रै रहेको छ।

मन्त्री घिसिङले गुह्येश्वरीमा एक प्लान्ट निर्माण भइसकेको र अन्य स्थानहरूमा पनि साना–ठूला संरचना निर्माण भइरहेको जानकारी दिए । थापाथली करिडोरमा बनिरहेको प्लान्टले टुकुचाको ढल प्रशोधन गरी सफा पानी वागमतीमा प्रवाह गर्ने उद्देश्य राखिएको उनले बताए।

एडीबीको ३ अर्ब १८ करोड रूपैयाँको लगानीमा निर्माण भइरहेको परियोजनामा केही ढिलाइ भएको स्विकार गर्दै मन्त्री घिसिङले रुख कटानीमा लागेको समय र ललितपुरतर्फ पर्ने भूभागमा स्थानीयवासीको विरोधले निर्माण कार्य प्रभावित बनेको बताए । सो पक्षमा आवश्यक छलफल गरी समाधान निकालिने उनको भनाइ छ।

उनले काठमाडौँ र ललितपुर महानगरका भूभागमा बन्ने संरचनाहरू करिब डेढ वर्षभित्र सम्पन्न हुने विश्वास व्यक्त गरे। नदी सफाइ स्थायी रूपमा देखिन फोहोर पानी प्रशोधन प्लान्टहरूको संख्या अझै बढाउनुपर्ने उल्लेख गर्दै उनले उपत्यकाका सबै नदी सफा गर्ने लक्ष्यका साथ थप प्लान्ट निर्माणको तयारी भइरहेको जानकारी दिए ।

रुख कटानी सहज नहुँदा अधिकांश विकास परियोजनामा ढिलाइ हुने गरेको उल्लेख गर्दै उनले नदीका ढल प्रणालीलाई व्यवस्थित गर्न सरकार निरन्तर सक्रिय रहेको बताए।