काठमाडाैँ । जेनजी अभियन्ता मिराज ढुङ्गानाले प्रधानमन्त्री सुशीला कार्कीलाई जेनजी आन्दोलनको सम्मान गर्न आग्रह गर्नुका साथै तत्काल राजीनामा दिनुपर्ने माग गरेका छन्।
जेनजी अभियन्ता प्रकाश शर्माको रिहाइको माग गर्दै शनिबार जिल्ला प्रहरी परिसर काठमाडौँ पुगेका ढुङ्गानाले अन्तरिम सरकारले आन्दोलनपछि जनतामा जगाएको आशा पुरा गर्न नसकेको आरोप लगाए।
ढुङ्गानाका अनुसार निर्वाचनपछि गठन भएको सरकारले मुलुकको विकासका लागि ठोस काम गर्न नसक्ने प्रष्ट भइसकेको छ। पुराना दलका नेताहरू पुनः सत्तामा फर्कने सम्भावनाबारे चिन्ता प्रकट गर्दै उनले अन्तरिम सरकार देश विकासमा असफल बनेको दाबी गरे। “आन्दोलनपछि आउने सरकारले विकास गर्छ भन्ने आशा अब पुराना पात्रहरूबाट गर्न सकिँदैन,” उनले भने।
प्रधानमन्त्री सुशीला कार्कीले आन्दोलनको मर्म नबुझेर त्यसको बेइज्जत गरेको जिकिर गर्दै ढुङ्गानाले भने, “यदि तपाईंलाई सकिन्न भने राजीनामा दिनुहोस्, हामी सबै मिलेर गोलमेच बसेर नयाँ मार्ग तय गरौँ।”
यसै क्रममा, जेन–जी अभियन्ता प्रकाश शर्माले पनि सरकार र गृहमन्त्रीको राजीनामाको माग राख्दै पर्चा टाँस्ने क्रममा आफू पक्राउ परेको बताए। शर्माले भदौ २३ गतेको घटनाको छानबिन नगरी भदौ २४ गते आन्दोलनमा सहभागी भएका युवालाई मात्र प्रहरीले लक्षित रूपमा पक्राउ गरेको आरोप लगाए।
जेनजी युवाहरूले आन्दोलनको आधारमा बनेको सरकारबाट नै आफ्ना माग उपेक्षित भएको भन्दै यसको विरोध जारी राख्ने बताएका छन्।



प्रतिक्रिया दिनुहोस्