घोषित मितिमै निर्वाचन सम्पन्न गर्न प्रधानमन्त्री कार्कीलाई पूर्वराष्ट्रपति भण्डारीको आग्रह


काठमाडाैँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री सुशीला कार्कीलाई घोषित मितिमा स्वच्छ, निष्पक्ष र भयरहित ढंगले निर्वाचन गर्न आग्रह गरेकी छन् ।

आइतवार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा भएको भेटमा भण्डारीले यस्तो आग्रह गरेको भण्डारीको भनाइ उद्धृत गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिएका हुन्।

उनकाअनुसार भेटमा प्रधानमन्त्री कार्कीले भ्रष्टाचार नियन्त्रण र सुशासनका पक्षमा सरकारले गरिरहेका कामबारे भण्डारीलाई जानकारी गराइन्। उनले सरकारले गरिरहेको कार्यप्रति पूर्वराष्ट्रपति भण्डारी अत्यन्तै सकारात्मक रहेको समेत बताइन् ।

समयमै निर्वाचन सम्पन्न गर्नेगरी अघि बढ्न आग्रह गर्दै आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेको पनि मन्त्री खरेलको भनाइ छ । 

“भेटको सुरूमा स्वास्थ्यसम्बन्धी र दिनचर्याका विषयमा चासो राख्नुभयो दुवै जनाले पारिवारिक कुराकानीहरु पनि उहाँहरुबीच एकदमै आत्मियताका साथ भयो । त्यसबाहेक अहिले सरकारले गरिरहेको कामको सन्दर्भमा प्रधानमन्त्रीज्युले केही कुराहरु साझा गर्नुभयो । घोषित मितिमा  निर्वाचन सम्पन्न गर्न पूर्वराष्ट्रपतिज्युले सल्लाह दिनुभयो,” उनले भने ।

पूर्वराष्ट्रपति भण्डारीले आइतवार जेन–जी आन्दोलनको क्रममा आगजनीमा परी खण्डहर भएका सिंहदरबारभित्रका संरचनाको अवलोकन गरेकी हुन्। सोही क्रममा प्रधानमन्त्री कार्की र भण्डारीबिच भेटघाट भएको हो  ।