काठमाडाैँ । प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानाले सरकारले लोकप्रिय हुने नाममा अनुचित ढंगले संघीय संसद सचिवालयको खर्च कटौति गरेको भन्दै आपत्ति जनाएकी छन्।
संसद सेवा दिवसको अवसर पारेर आइतवार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले खर्च कटौति गरेर मुलुक बन्दैन भन्नेकुरा सरकारलाई थाहा हुनुपर्ने समेत बताएकी हुन् ।
उपसभामुख रानाले सरकारले भ्रष्टाचार अन्त्य गरेर मुलुकलाई सही बाटोमा अघि बढाउनुपर्नेमा खर्च कटौति गरेर गल्ती गरेको बताइन् । उनले संसद सचिवालयका कर्मचारीहरुको क्षमता अभिवृद्धिका लागि प्रशिक्षण, तालिमलगायतका काम गर्न पनि सरकारले नदिने अवस्था आएको भन्दै असन्तुष्टि व्यक्त गरिन् ।
“मलाई डर लाग्दैन अहिलेको सरकारले लोकप्रिय हुने नाममा खर्च कटौति भनेर के के कटौति ग¥यौं । त्यो कुरा सरकारलाई थाहा छ–खर्च कटौति गरेर देश बन्दैन । खर्च करप्शन भएको ठाउँमा कटाउने हो । जहाँ चुहावट छ, त्यहाँ बन्द गर्ने हो । जहाँ काम भईरहेको छ, त्यहाँ कामै रोकियो भने के गर्ने ? काम कसरी हुन्छ, देश कसरी बन्छ ? खर्च कटाएर, पैसा कटाएर हुँदैन,” उनले भनिन् ।
उपसभामुख रानाले सरकारले व्यवस्थापिकालाई निचोर्ने काम मात्रै गरिरहेको आफूलाई अनुभुुति हुने गरेको समेत बताइन् ।



प्रतिक्रिया दिनुहोस्