वैदेशिक रोजगारी ‘पलायन’ होइन, ‘सीप विकास’ होः सचिव पुस्कर


काठमाडाैँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव डा. कृष्णहरी पुस्करले वैदेशिक रोजगारी पलायन नभएको बताएका छन् ।

आप्रवासन दिवसको पूर्वतयारीका क्रममा आईतवार मन्त्रालयमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले वैदेशिक रोजगारीलाई पलायन भन्ने प्रचलन बढेको उल्लेख गर्दै त्यो गलत र भ्रामक भएको उल्लेख गरे।

वैदेशिक रोजगारलाई उच्च शिक्षासँग तुलना गर्दै उनले यसलाई प्राविधिक शिक्षाका रूपमा बुभ्नुपर्ने बताए। उनकाअनुसार विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीमध्ये पाँच प्रतिशत पनि फर्केर नआउने तथ्याङ्क शिक्षा मन्त्रालयकै ‘नो अब्जेक्सन लेटर’ (एनओसी) का अभिलेखले देखाउँछ ।

उनले पढ्न जाने ५ प्रतिशत पनि नेपाल फर्कंदैन भने वैदेशिक रोजगारीलाई मात्र किन पलायन भनिन्छ ? भन्ने प्रश्न समेत गरे । उनले वैदेशिक रोजगार पनि हायर एजुकेशन जस्तै भएको उल्लेख गरे । रोजगारीमा जाने मान्छेले पैसा, सीप, एक्सपोजर सबै ल्याउने र फर्केर नेपालमै केही गर्न पनि खोज्ने बताए ।

वैदेशिक रोजगारीलाई पलायनका रूपमा चित्रण गर्ने प्रवृत्तिलाई उनले शोषक मानसिकता भएको आरोप समेत लगाए । माईग्रेसनलाई नकरात्मक रूपमा प्रस्तुत गर्नेभन्दा त्यसलाई व्यवस्थापन, सीप विकास र वैदेशिक अनुभवलाई उत्पादनशीलक्षेत्रमा वापत ल्याउनेतर्फ नीति केन्द्रित हुन आवश्यक रहेको बताए ।

उनले देश विकास र व्यक्तिको क्षमता विकासको लागी पनि माईग्रेसन हुनु जरुरी भएको बताए । माईग्रेसनका कारण नै धेरै मुलुकहरु विकसित भएको उनको दाबी छ । उनले सुरुक्षाका लागी माईग्रेट हुने चलन रहेको उल्लेख गरे । नेपालमा यसवर्ष सुरक्षित र मार्यदित आप्रवासन, समग्र चक्रमा सुशासन भन्ने नाराका साथ यो दिवस एक हप्तासम्म मनाइने भएको छ । कार्यक्रममा श्रम मन्त्रालयका अधिकारी, अन्तर्राष्ट्रिय संस्थाका प्रतिनिधि तथा वैदेशिक रोजगार संवद्ध विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको सहभागिता थियो ।