काठमाडौँ उपत्यकाका चार खाद्य उद्योगमा स्वच्छता र भण्डारणमा कमजोरी, तत्काल सुधार गर्न विभागको निर्देशन


काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गत मंसिर १६ र १७ गते काठमाडौँ उपत्यकाभित्रका पाँच खाद्य उद्योग तथा व्यवसायमा गरेको निरीक्षण–अनुगमनमा विभिन्न अव्यवस्थाहरू फेला परेका छन्।

सरसफाइदेखि भण्डारण,पेस्ट कन्ट्रोल, उपभोग्य मिति गुज्रिएका वस्तु तथा लेबलिङसम्बन्धी कमीकमजोरी भेटिएपछि विभागले तत्काल सुधारका निर्देशन जारी गरेको छ।

मंसिर १६ मा ललितपुर–३ मा रहेको हरमन हेल्मर बेकरीमा सरसफाइ सामान्य भए पनि पेस्ट कन्ट्रोल व्यवस्था कमजोर देखिएको अनुगमन प्रतिवेदनमा उल्लेख छ।

प्रशोधन कक्ष तथा स्टोरमा खाद्य वस्तु प्रत्यक्ष भुइँमा राखिएको र उपभोग्य मिति गुज्रेका ‘केक मिक्स भ्यानिला’ दुई थान फेला परेपछि ती वस्तु नष्ट गरिएको विभागले जनाएको छ। उद्योगलाई भण्डारण तथा स्वच्छता व्यवस्था सुधार गर्न निर्देशन दिइएको छ।

त्यसैगरी तारकेश्वर–०६ मा अवस्थित डॉफ फुड्स इन्डस्ट्रीज प्रालिमा सरसफाइ सामान्य भए पनि पेस्ट कन्ट्रोल व्यवस्था सन्तोषजनक नभएको तथा केही मैदाका बोरा प्रत्यक्ष भुइँमा राखिएको भेटिएको छ। विभागले तत्काल सुधार गर्न निर्देशन दिएको छ।

मंसिर १७ मा गरिएको अनुगमनका क्रममा काठमाडौँ–१ कमलपोखरीस्थित कृष्ण पाउरोटी भण्डार प्रालिमा सरसफाइ,पेस्ट कन्ट्रोल तथा भण्डारण सबै सन्तोषजनक रहेको भेटिएको छ। उद्योगबाट बेकरी सर्टेनिङ र कुकिजका नमूना परीक्षणका लागि सङ्कलन गरिएको छ।

यद्यपि कमलपोखरीकै कृष्ण बेकरी एण्ड कन्फेक्सनरीमा सरसफाइ कमजोर रहेकोपेस्ट कन्ट्रोल अपर्याप्त देखिएको र एक्स्पायरी जोन छुट्टै नहुँदा मालसामान अव्यवस्थित भएको पाइएको छ। डस्टविन खुला अवस्थामा भेटिएको र केक प्रिमिक्स, अगर–अगर तथा डोनट मिक्स सहित उपभोग्य मिति गुज्रेका १४ थान खाद्य पदार्थ बरामद भएपछि ती सबै नष्ट गरिएका छन्। विभागले आवश्यक सुधार गर्न निर्देशन दिंदै बेकरी सर्टेनिङ र कुकिजका नमूना पनि सङ्कलन गरेको छ।

ललितपुर–१४ गोदावरीस्थित नाङ्लो बेकरी प्रालिमा उद्योग चलिरहेको अवस्थामा अनुगमन गर्दा स्टोरमा राखिएका क्रोसन, पफलगायतका उत्पादनहरूको व्यवस्थापन संतोषजनक नभएको भेटिएको छ।

कोल्ड स्टोरमा लेबल विवरण अपूर्ण रहेको करिब ५०० ग्राम ‘बटर आयल सब्स्टिट्यूट’ पाइएको छ। उद्योगबाट क्रोसन, पफ र बटर आयल सबस्टिच्युटका नमूना संकलन गर्दै विभागले पाँच दिनभित्र आवश्यक कागजातसहित उपस्थित भई सबै कमी कमजोरी सुधार गर्न निर्देशन दिएको छ। विभागले खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम उपत्यकाभित्र खाद्य व्यवसायहरूको नियमित अनुगमन जारी राख्ने जनाएको छ।