ओलीले महाविधेशन पञ्चायतको गाँउ फर्क शैलीमा गर्न खोजिरहेका छन्ः उपाध्यक्ष पाण्डे


काठमाडाैँ । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले एमाले अध्यक्ष केपी ओलीले पार्टीको ११ औँ महाधिवेशनलाई ‘पञ्चायती व्यवस्थाको गाउँ फर्क शैली’मा गर्न खोजेको आरोप लगाएका छन् ।

ईश्वर पोखरेल पक्षधरहरूले आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा पाण्डेले भने, “२०३२ सालमा पंचायती व्यवस्थामा गाउँ फर्क लागू भएपछि जसलाई टिकट दिन्थे, केवल उनी मात्र चुनाव लड्न पाउँथे। अहिले ओलीले यही प्रक्रिया पार्टीमा लागू गर्न खोजेका हुन्।”

उनले केपी ओली अध्यक्षमा निर्वाचित भएपछि पार्टीको लोकतान्त्रिक प्रक्रियामा गम्भीर सङ्कट आएको र वर्तमान नेतृत्वले आन्तरिक निर्वाचन प्रणालीलाई सिमित र व्यक्तिमुखी बनाउन खोजिरहेको दाबी गरे ।

पाण्डेका अनुसार आठौँ महाधिवेशनमा सर्वसम्मत रूपमा पारित गरिएको ७० वर्षे उमेरहद र दुई पटकभन्दा बढी नेतृत्व नपाउने व्यवस्था पालना हुँदै आएको भए पनि १० औँ र ११ औँ महाधिवेशनमा केवल नेतृत्वले छानेको सूचीमा रहेका उम्मेदवारले मात्रै चुनाव लड्ने प्रवृत्ति दोहोर्याउन खोजिएको छ।

उनले भने, “नेताले छानेका व्यक्तिलाई मात्रै उम्मेदवारी दिने सोचाइले पार्टीभित्रको आन्तरिक लोकतन्त्र समाप्त हुन्छ। यसले नवपुस्ता र जनतामाझ एमालेको पहुँच खुम्चिँदै गएको छ। चुनाव नहुने, प्रतिष्पर्धा नहुने, माथिबाट तोकिएको सूचीमा नेतृत्व चयन हुने पार्टीमा किन जाने? भन्ने प्रश्न नवपुस्ताले उठाउन थालेको छ।”