एनसेलका सबै विवाद चाँडो समाधान हुनुपर्छ: सञ्चारमन्त्री खरेल


काठमाडाैँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले दूरसञ्चार सेवा प्रदायक एनसेलसँग सम्बन्धित सबै विवाद छिट्टै समाधान हुनुपर्ने आवश्यकता औँल्याएका छन्।

सोमबार नक्खुस्थित एनसेल कार्यालयको अवलोकनपछि मन्त्री खरेलले कम्पनीको शेयरसम्बन्धी प्रश्न, भुक्तानी दायित्व तथा अन्य मुद्दाहरू कानुनी तरिकाले टुङ्ग्याएर स्वच्छ व्यवसायमा अघि बढ्न आग्रह गरेका हुन् ।

मन्त्री खरेलले भने, “राज्य र नागरिकको नजरमा एनसेलको व्यवसाय सम्मानित हुनुपर्छ। यसका लागि विद्यमान सबै विवादको समाधान गरी क्लिन बिजनेस र गुणस्तरीय सेवा प्रदान गर्नुपर्छ। सरकार यसका लागि सहयोग गर्न तयार छ।”

उनले जेनजी आन्दोलनका कारण एनसेलले भोगेको क्षतिको विषयमा पनि चासो व्यक्त गर्दै क्षतिपूर्तिमा सरकार आवश्यक पहल गर्ने आश्वासन दिए। हालै उत्पन्न केही नीतिगत तथा कानुनी समस्या समाधानका लागि सरकार सक्रिय रहेको बताउँदै सबै विवाद कानुन अनुसार नै टुङ्ग्याइने विश्वास व्यक्त गरे ।

अवलोकनका क्रममा एनसेलका अध्यक्ष सतिशलाल आचार्य र प्रमुख कार्यकारी अधिकृत माइकल फोलेले मन्त्री खरेललाई जेनजी आन्दोलनका क्रममा लैनचौरस्थित केन्द्रीय कार्यालयमा परेको करिब रु ६५ करोड बराबरको क्षतिको विवरण प्रस्तुत गरेका थिए। क्षतिग्रस्त कार्यालयका कारण एनसेल हाल नक्खुस्थित कार्यालयबाट सेवा सञ्चालन गरिरहेको छ।

मन्त्री खरेलले एनसेलले विद्यार्थी तथा जेनजीलाई लक्षित गरी नयाँ प्याकेज ल्याउन लागेको सुनेर खुसी लागेको बताए । “विद्यार्थी र जेनजीका लागि केही गर्नुहोस् भनेको थिएँ, उहाँहरूले नयाँ प्याक ल्याउने तयारी भइरहेको जानकारी दिनुभयो,” मन्त्री खरेलले भने ।

एनसेलले जेनजीका लागि विशेष प्याक सार्वजनिक गर्ने तयारीसँगै देशभरका १०० विद्यार्थीलाई एक करोड रुपैयाँ बराबरको ‘जेनजी छात्रवृत्ति’ घोषणा गर्ने तयारी गरेको जानकारी दिएको छ। साथै, सगरमाथा क्षेत्रको गोखरसेपसम्म पाँच नयाँ टावर थपेर ‘फोरजी’ सेवा विस्तार गर्न लागिएको एनसेलले बताएको छ।

सीईओ माइकल फोलेले नेपालको दूरसञ्चार सेवा अझै अन्तरराष्ट्रिय स्तरमा पुग्न सकेको नसकेकाले सरकारले नीतिगत सहजता प्रदान गर्नुपर्नेमा जोड दिए। “टेलिकम सेवा अब मानिसका लागि अत्यावश्यक भइसकेको छ, सरकारले पनि यो क्षेत्रमा आवश्यक ध्यान दिनुपर्छ,” उनले भने ।