काठमाडौँ । रुपन्देही उद्योग संघले ‘१६औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव-२०८२’ बुटवलमा गर्ने भएको छ । रुपन्देही उद्योग संघको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसंघको संरक्षकत्वमा महोत्सव हुने भएको हो । ‘१६औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव-२०८२’ आगामी पौष ३ गतेदेखि १७ गतेसम्म बुटवलको अन्तराष्ट्रिय प्रदर्शनी केन्द्रमा हुने भएको हो ।
महोत्सवको नारा “संमृद्ध नेपाल निर्माणको आधार, स्वदेशी उद्यमशिलताको विस्तार” रहेको छ । संघले २०४५ सालमा नेपालमै पहिलो पटक र २०५३ सालदेखि निरन्तर औद्योगिक प्रदर्शनीे आयोजना गर्दै आइरहेको छ ।
औद्योगिक प्रदर्शनीमा स्वदेशी उत्पादन, नयाँ प्रविधि, पर्यटन तथा कृषि उत्पादनसँग सम्बन्धित वस्तुहरुका लागि छुट्टाछुट्टै १० वटा पेभिलियन हुने जनाइएको छ । भर्खर निर्माण सम्पन्न भएको आधुनिक अन्र्तराष्ट्रिय प्रदर्शनी केन्द्रमा आधुनिक स्तरकै स्टल हुने रुपन्देही उद्योग संघका अध्यक्ष तथा मुल समिति संयोजक कृष्ण प्रसाद पराजुलीले बताए ।
स्वदेशी उद्योगका उत्पादन मात्रै प्रदर्शन र तिनको बजारीकरण गर्दै उपभोक्तामा स्वदेशी उत्पादन प्रयोग गर्नुपर्छ भन्ने भावनाको विकास गराउने यो प्रदर्शनीको मुख्य उद्देश्य रहेको जनाइएको छ ।
यसपटकको प्रदर्शनीमा नेपाल उद्योग परिसंघले संचालन गरिरहेको मेक इन नेपाल स्वदेशी अभियान लाई थप प्राथमिकताका साथ अगाडि बढाउने उल्लेख गरिएको छ । आयोजकका अनुसार प्रर्दशनीको मुख्य उद्देश्य नै स्वदेशी उद्योगलाई प्रवद्र्धन गर्ने भएकाले प्रदर्शनीमा स्वदेशी उत्पादन मात्रै समावेश हुने छन् ।
प्रदर्शनीका मुख्य उद्देश्य स्वेदशी उत्तपादनहरुको प्रदर्शन र बजारीकरण, प्राविधिक र व्यवसायिक अनुभवको आदान प्रदान, नेपाली उद्योगको लागि अवसरको खोजी, उत्पादन उपभोक्ताबिज्ञहरु र सरकारी निकायबिच अन्तरसम्वाद, आन्तरिक तथा बाह्य औद्योगिक वातावरणको जानकारी, निर्यातमूलक उद्योगको पहिचान र प्रोत्साहन, युवा तथा महिला उद्यमीहरुलाई प्रोत्साहन, पर्यटक क्षेत्रका व्यवस्था बारेमा सरोकारवालाबीच छलफल र औद्योगिक जनशक्ति निर्माण रहेको आयोजकले जनाएको छ ।
प्रदर्शनीले स्वदेशी उत्पादनलाई उपभोक्ता सँग सोझो सम्पर्क स्थापना गराउँदै नयाँ उद्योग स्थापनाका लागि प्रोत्साहन र औद्योगिक सम्भावनाको खोजीमा टेवा पुग्ने आयोजकको विश्वास छ ।
प्रदर्शनीमा स्वदेशी उत्पादनको प्रदर्शनीसँगै नयां प्रविधिको खोजी, कृषिको व्यवसायीकरण, पर्यटन प्रवद्र्धन, युवा उद्यमीलाई प्रोत्साहन, स्र्टाटअप स्वरोजगार श्रृजना, कला र संस्कृतिको जगेर्ना, गोष्ठी तथा अन्तक्र्रिया गरिने उल्लेख गरिएको छ । प्रदर्शनीमा औद्योगिक प्रविधि, कृषि, हस्तकला, गार्मेन्ट, बेकरी तथा कन्फेक्सनरी, छाला जुत्ता, खाद्यान्न, सूचना प्रविधिलगायतका करिव ५०० स्टलहरु रहने जनाइएको छ । आयोजकका अनुसार प्रदर्शनीको करिब ८ लाख दर्शकले अवलोकन गर्ने र ३० करोड रुपैयाँ बराबरको कारोवार हुने अनुमान गरिएको छ ।
प्रदर्शनीलाई मनोरञ्जनात्मक बनाउन लोकदोहोरी प्रतियोगिता, गायक गायिका, हास्य कलाकार, स्थानीय कलाकारहरुको प्रस्तुती, सांगीतिक कार्यक्रम, विद्यालय स्तरीय लोकनृत्य प्रतियोगिता, कलेज स्तरीय अन्तर कलेज बक्तृत्वकला प्रतियोगिता, लोक भजन प्रतियोगिता, प्रदर्शनी आइडल, टिकटक प्रोमोसन कम्पिटिसन लगायतका प्रतियोगिताहरू गरिने जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्