काठमाडौँ । कृषि तथा पशुपन्छी विकासमन्त्री डा. मदनप्रसाद परियारले देशको खाद्य सुरक्षा सुनिश्चित गर्न सरकारले प्रभावकारी रूपमा काम गरिरहेको बताएका छन् ।
ललितपुरमा सोमबार आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री परियारले १६ औँ पञ्चवर्षीय योजनाले अघि सारेको ‘सबैका लागि सुलभ र पौष्टिक खाद्यान्न’ को लक्ष्यअनुसार नै सरकारी कार्यक्रमहरू सञ्चालन भइरहेका छन् भनेर स्पष्ट गरेका हुन् ।
उनका अनुसार राष्ट्रिय रणनीतिहरूलाई प्रदेश र स्थानीय तहका खाद्य प्रणाली रूपान्तरण योजनासँग समायोजन गरिएको छ, जसले देशभर समन्वित रूपमा खाद्य सुरक्षाको प्रयासलाई अगाडि बढाउनेछ । मन्त्री परियारले साना तथा सिमान्तकृत कृषकको क्षमता विकासमा सबै पक्षको सक्रियता आवश्यक रहेकोमा जोड दिए ।
कार्यक्रममा सहभागी विज्ञ तथा सरोकारवालाहरूले नेपाल जलवायु अनुकूलनका खेतीपद्धतितर्फ उन्मुख भइरहेका बेला त्यसलाई अझ व्यवस्थित रूपमा विस्तार गर्नुपर्ने सुझाव दिए । उनीहरूले कृषि अनुसन्धानलाई प्रभावकारी प्रचार–प्रसारसँग जोडेर उत्पादन र उत्पादकत्व बढाउन सकिनेमा जोड दिए ।



प्रतिक्रिया दिनुहोस्