काठमाडाैँकाे कुलेश्वरबाट ५७ लाखभन्दा बढी नगदसहित हुन्डीमा संलग्न एक युवक पक्राउ


काठमाडाैँ । काठमाडौँको कुलेश्वर क्षेत्रमा हुन्डीमार्फत अवैध रूपमा रकम कारोबार भइरहेको सूचनाका आधारमा प्रहरीले ५७ लाखभन्दा बढी नगदसहित एक व्यक्तिलाई पक्राउ गरेको छ।

मंसिर २१ गते बिहान करिब ९ बजे प्रहरी वृत्त कालिमाटीबाट खटिएको टोलीले काठमाडौं महानगरपालिका–१४, कुलेश्वर स्थित चुन्ने पाखा टोलमा चेकजाँच गर्ने क्रममा काभ्रेपलान्चोक, नमोबुद्ध–९ घर भई हाल कुलेश्वरेल बस्दै आएका ३४ वर्षीय सरोज श्रेष्ठलाई पक्राउ गरेको हो। प्रहरीले उनको साथ तथा कोठाबाट नेपाली नगद रू. ५७ लाख ४७ हजार ३ सय ५० बरामद गरेको छ।

उक्त रकम हुन्डी कारोबारमा प्रयोग भएको आशंकामा श्रेष्ठलाई पक्राउ गरी ‘हुन्डी सम्बन्धी कारोबार गर्न नहुने’ कसूरअन्तर्गत अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी परिसर, काठमाडौँले जनाएको छ।

आवश्यक अनुसन्धानका लागि काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद अनुमति लिइएको प्रहरीले जनाएको छ।