काठमाडौँ । आगामी प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ को तयारीका क्रममा निर्वाचन आयोगले आम मतदाताको सहजता र सुविधा सुनिश्चित गर्न मतदान स्थलहरू पुनरावलोकन गरेको छ।
निर्वाचन आयोगका अनुसार पुनरावलोकनको क्रममा कुनै मतदाताको नाम सम्बन्धित मतदानस्थलमा सार्नुपर्ने वा समावेश हुन छुटेको भए, हाल सञ्चालनमा रहेको मतदाता नामावली अद्यावधिक (दावी–विरोध) कार्यक्रममा सहभागी भएर मंसिर २६ गते भित्र नाम सच्याउने, हटाउने वा दावी–विरोध गर्ने काम गर्न सकिनेछ।
त्यसैगरी, एउटै वडाभित्र रहेको मतदानस्थलबाट आफूलाई अनुकूल पर्ने अर्को मतदानस्थलमा नाम सार्न चाहने मतदाताले पनि निवेदन दिन सक्ने व्यवस्था छ। यसका लागि मतदाताले सम्बन्धित निर्वाचन कार्यालयमा गएर वा निर्वाचन आयोगको अनलाइन प्रणाली (https://applyvr.election.gov.np)मार्फत निवेदन दिन सक्नेछन्।
निर्वाचन आयोगले मतदातालाई आफ्नो मतदान स्थल यकिन गर्न समयमै निवेदन दिन आग्रह गरेको छ।



प्रतिक्रिया दिनुहोस्