सुर्खेतका खानेपानी र डेरी उद्योगमा खाद्य विभागकाे अनुगमनः एक उद्योगको उत्पादन रोक, एक सिल


काठमाडौँ । सुर्खेतका खानेपानी र दुग्ध उद्योगमा गरिएको अनुगमनमा अव्यवस्था फेला परेपछि एक उद्योगको उत्पादन तथा बिक्री–वितरण रोकिएको छ भने एक उद्योग सिल गरिएको छ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका अनुसार अनुगमन टोलीले विभिन्न उद्योगमा स्वास्थ्य जोखिम हुने किसिमका त्रुटि भेटिएको जनाइएको छ।

मंसिर १६ गते बिरेन्द्रनगर–२मा अवस्थित तिला कर्णाली पानी प्रशोधन उद्योगमा गरिएको अनुगमनका क्रममा फिलिङ च्याम्बरको कभर टुटफुट अवस्थामा रहेको, माइक्रो फिल्टरमा लिकेज भएको, प्रशोधन कक्षमा अनावश्यक सामग्री राखिएको तथा किट नियन्त्रण प्रणाली लागू नभएको पाइएको विभागले जनाएको छ।

पानी उत्पादनमा वन वे फ्लो सिस्टम समेत नअपनाएको भेटिएपछि प्रशोधित पानी स्वास्थ्यका लागि जोखिमपूर्ण हुन सक्ने ठहर गर्दै उद्योगको उत्पादन र बिक्री–वितरणमा तत्काल रोक लगाइएको हो। त्यस क्रममा १४ थान कुचिएका १९ लिटरका जार नष्ट गरिएको तथा आवश्यक मर्मत र सुधार नगरेसम्मका लागि उद्योग सिल गरिएको विभागले स्पष्ट पारेको छ।

यस्तै, कार्तिक २५ गते बिरेन्द्रनगर–९ लाटिकोइली क्षेत्रका दुई उद्योगमा गरिएको अनुगमनमा पनि अव्यवस्था भेटिएको छ। बौद्ध ग्रामिण डेरी उद्योगमा प्याकेजिङ मेसिनको यूभी प्रणाली निष्क्रिय अवस्थामा रहेको तथा दुग्ध पदार्थ प्लास्टिकका ड्रम र बाल्टिमा भण्डारण गरिएको पाइएपछि उद्योगलाई आवश्यक मापदण्ड पालना गर्न निर्देशन दिइएको छ। साथै, स्वच्छतासम्बन्धी तालिम प्रदान गर्दै भण्डारण प्रणाली सुधार गर्न भनिएको छ।

यता बौद्ध ग्रामिण प्रशोधित खानेपानी उद्योगमा प्रशोधित पानी राखिने स्टोरेज ट्याङ्कमा चुहावट देखिएपछि उद्योगबाट उत्पादन भएको १.३२३ केस पानी रोक्का गरिएको र ट्याङ्क मर्मत नभएसम्मका लागि उत्पादनमा रोक लगाइएको विभागले जनाएको छ। चुहावटका कारण पानीको गुणस्तर प्रभावित हुनसक्ने तथा उपभोगकर्ताको स्वास्थ्यमा असर पर्न सक्ने जोखिमका आधारमा उद्योगलाई तत्काल सुधार गर्न निर्देशन दिइएको विभागले जनाएको छ।

विभागले खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ का प्रावधानअनुसार सबै उद्योग र व्यवसायीलाई निश्चित मापदण्ड पालना गर्न आग्रह गरेको छ। प्रशोधित पिउने पानी उत्पादन निर्देशिका, २०७५ अनुसार उत्पादन नगर्ने उद्योगमाथि आवश्यक कारबाही हुने चेतावनीसमेत विभागले दिएको छ।