काठमाडौँ । सहकारी क्षेत्रमा देखिएको दोहोरो सञ्चालकको समस्या अन्त्य गर्न सहकारी विभागले सबै सहकारी संस्था तथा सञ्चालक सदस्यलाई कानूनी प्रावधान तत्काल लागू गर्न निर्देशन दिएकाे छ।
‘एक व्यक्ति एक सहकारी’ को सिद्धान्तलाई व्यवहारमा उतार्न विभागले यो टिप्पणीसहित कडाइपूर्ण निर्देशन जारी गरेको हो।
सहकारी ऐन, २०७४ मा कुनै व्यक्ति एकै समयमा एक मात्र सहकारी संस्थाको सञ्चालक हुन सक्ने स्पष्ट प्रावधान छ। त्यस्तै, अर्को सहकारीमा सञ्चालक रहेमा पदमा बहाल रहन नपाइने व्यवस्था ऐनकै दफा ४४(१)(ग) मा उल्लेख छ।
यद्यपि, विगतमा विभिन्न मितिमा विभाग, राष्ट्रिय सहकारी नियमन प्राधिकरण र नेपाल राष्ट्र बैंकबाट निर्देशन तथा मापदण्डहरू जारी भए पनि केही व्यक्तिहरू अझै दोहोरो सञ्चालकका रूपमा क्रियाशील रहेको गुनासो विभागमा पुगेको छ।
यही अवस्था दोहोरिन नदिन विभागले सहकारीहरूलाई पुनः चेतावनी जारी गर्दै ऐन तथा नियमावलीले तोकेको व्यवस्था अब अनिवार्य रूपमा कार्यान्वयन गर्न आग्रह गरेको छ। विभागले सहकारीको सुशासन, पारदर्शिता, स्रोत दुरुपयोग रोकथाम तथा स्वार्थ–द्वन्द्व नियन्त्रणका लागि कानूनी व्यवस्था पालन गर्नु सबैको साझा दायित्व भएको स्पष्ट पारेको छ।
अनुगमन, नियमन तथा सुपरिवेक्षणका क्रममा कानूनी प्रावधानको उल्लङ्घन भेटिएमा सहकारी ऐन, २०७४ तथा नियमावली, २०७५ अनुसार कारवाही प्रक्रियामा अघि बढाइने चेतावनी पनि विभागले दिएको छ।



प्रतिक्रिया दिनुहोस्