यो चुनावी सरकार मात्र होइन,कसैको धम्कीबाट डराउँदैनौँः प्रधानमन्त्री कार्की


काठमाडाैँ । प्रधानमन्त्री सुशीला कार्कीले अन्तरिम सरकार चुनावी सरकार मात्र नभएको बताएकी छन् ।

भ्रष्टाचारविरुद्धको २२ औँ अन्तरराष्ट्रिय दिवसको अवसरमा सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले अहिलेको सरकार सुशासनको माग राखि भएको जेन–जी आन्दोलनको जगमा बनेको सरकार भएको बताएकी हुन् ।

सरकारले नियमित सँगसँगै सुशासनका निमित्त तिब्र गतिमा काम गरिरहेको उनको दाबी छ । जेन–जी का माग र अपेक्षा बमोजिमका आशातीत उपलब्धि हासिल हुन समय लाग्ने भएपनि भ्रष्टाचारविरुद्ध जुनसुकै हदसम्मको कठोर कदम चाल्न पनि सरकार पछि नहट्ने बताइन् । यसका निम्ति राज्यका स्थापित संयन्त्र क्रियाशील भइसकेको बताइन् । यस दिशामा चालिएका कदमबाट आत्तिएर कतिपयले प्रत्यक्ष वा परोक्षरुपमा धम्की दिएको बताइन्।

उनले आफूहरू कसैको धम्कीबाट नडराउने भन्दै सम्बन्धित निकायका पदाधिकारी र राष्ट्र सेवकहरूलाई पनि कत्ति पनि विचलित नभई निर्धक्कसँग आफ्नो व्यावसायिक स्वतन्त्रता उपयोग गरी अघि बढ्न निर्देशन दिइन् ।