महाधिवेशनमा प्रतिष्पर्धा गर्नेलाई पार्टीको हित नचाहने भन्ने भाष्य खडा गर्न खोजिँदैछः गोकर्ण विष्ट


काठमाडाैँ। नेकपा एमालेका सचिव गोकर्ण विष्टले पार्टीभित्र प्रतिष्पर्धा गर्नेलाई पार्टीको हित नचाहने भनेर भाष्य सिर्जना गर्न खोजिएको आरोप लगाएका छन् ।

एमाले ११ औं महाधिवेशन सन्दर्भमा बुधवार आयोजित अन्तरसंवाद कार्यक्रममा उनले आफूहरूले पार्टीभित्र स्वच्छ प्रतिस्पर्धा गर्न चाहेको बताएका हुन् । तर पार्टीभित्र प्रतिष्पर्धा गर्दा ‘संकटमा प्रतिस्पर्धा गर्ने व्यक्तिहरु पार्टीको हित नचाहने’ भन्ने प्रकारको भाष्य खडा गर्न खोजिएको उनको भनाइ छ ।

उनले सङ्कटले परिवर्तन ल्याउने र नयाँ नेतृत्व निर्माण गर्ने बताए । सङ्कटले चुनौतीलाई सामना गर्ने तागत पैदा गर्ने उनको भनाइ छ । देशमा सङ्कट छ भने यो सङ्कटकाे पछाडीको कारण के हो ? यसको पछाडीको मुख्य जिम्मेवारी कसको छ ? भन्ने समिक्षा गर्न आवश्यक रहेको उनले बताए ।

उनले वर्तमान संकटको सामना गर्नको लागि नेतृत्व रुपान्तरण आवश्यक रहेको बताए । जनता र समयले नेतृत्व हस्तान्तरणको माग गरिरहेको उनको भनाइ छ । कुनै अमुक व्यक्ति शक्तिशाली नभएर सामुहिक नेतृत्व आजको समयको माग रहेको उनले बताए । उनले देशभरबाट आएका प्रतिनिधिले पार्टीभित्रको परिस्थितिलाई बुझेको र यथास्थितिमा कायम नराख्ने पनि दाबी गरे ।

उनले एमालेका युवा पुस्ताहरुलाई नेतृत्व लिनको लागि तयार रहन पनि आग्रह गरे । ४० वर्ष मुनीका युवाहरुलाई पार्टीको केन्द्रिय समितिमा ल्याउनको लागी आफूहरूले पहल गर्ने उनको भनाइ छ । उनले नेतृत्वमा भएको जामले पार्टीभित्र युवाहरूको आकर्षण घट्दै गएको पनि बताए । ११ औँ महाधिवेशनले युवाहरुलाई पार्टीमा आकर्षण बढाउने नीति तय गर्नेपनि उनको भनाइ छ । – न्युज एजेन्सी नेपाल