राष्ट्रिय मानव अधिकार आयोगको सिफारिस कार्यान्वयनमा सरकार प्रतिवद्ध छः कानूनमन्त्री सिन्हा


काठमाडाैँ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले राष्ट्रिय मानव अधिकार आयोगले गरेका सिफारिसहरू कार्यान्वयनका लागि सरकार प्रतिवद्ध रहेको बताएका छन् ।

७७ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसर पारेर बुधवार सिंहदरबारमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री सिन्हाले संघ, प्रदेश तथा स्थानीय तह र सरोकारवालाहरूले मानव अधिकार संरक्षण र संवद्र्धनमा अतुलनीय योगदान दिएको उल्लेख गर्दै त्यसमा केही कमी देखिए सुधारका लागि सरकारलाई रचनात्मक सुझाव दिन पनि सम्बन्धित सबै पक्षलाई आह्वान गरेका हुन्।

उनले मानव अधिकारको संरक्षण र संवद्र्धनमा सरकारसँग सहकार्य गरेर अघि बढ्न पनि मानव अधिकारकर्मी र नागरिक समाजका अगुवाहरूलाई आग्रह गरे । मन्त्री सिन्हाले सरकारले मानव अधिकार आयोगको संस्थागत सुदृढिकरणमा पनि जोड दिएको बताए ।

मन्त्री सिन्हाले सत्य तथा निरुपण आयोग र बेपत्ता छानविन आयोगको प्रतिवेदन कार्यान्वयन गर्न पनि सरकार लागि परेको बताए ।