प्रभु बैंकका रेमिट्यान्स विभाग प्रमुख पक्राउ,रकम दुरुपयोग गर्दा रू.१ अर्ब नोक्सानीको अनुमान


काठमाडाैँ । प्रभु बैंकका रेमिट्यान्स विभाग प्रमुख सुजित शाक्य पक्राउ परेका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले रेमिट्यान्स रकम कानुन विपरीत स्वार्थ समूहलाई प्रयोग गर्न लिएर नोक्सानी पुर्‍याएको आरोपमा शाक्य पक्राउ परेका हुन् ।

नियम विपरित सुपर एजेन्ट बनाई रेमिटन्स कारोबार गर्न प्रभु म्यानेजमेन्ट प्रा.लि. लाई एड्भान्स रकम दिई उक्त प्रभु म्यानेजमेन्ट प्रा.लि. संग रेमिट कारोबार स्थगित भए पछि पनि नेपाल राष्ट्र बैंकको निर्देशन तथा कानुन विपरीत लामो समयसम्म स्वार्थ समूहलाई रकम प्रयोग गर्न लिएको सिआइबीको निष्कर्ष छ ।

कानुन विपरीत रकम प्रयोग गर्न दिँदा प्रभु बैंक लि. लाई ८ करोड ९३ लाख १९ हजार ९ सय ८६ रुपैयाँ तीस पैसा हानी नोक्सानी गरेको ब्युरोको ठहर छ ।

सोही अपराधलाई लुकाउन कर्जा प्रवाह गरी कर्जा दुरुपयोग गरेको आरोपमा प्रभु बैंकका सिइओ अशोक शेरचनलाई समेत पक्राउ गरेर ब्युरोले अनुसन्धान गरिरहेको छ ।

रेमिट कारोबार गर्ने क्रममा प्रभु बैंक लि. लाई हानी र आफ्नो स्वार्थ समुह अन्तर्गतको प्रभु मनि ट्रान्सफरलाई फाईदा हुने गरी रेमिट बापतको प्रिफन्डिङ दिन सक्ने कानूनी व्यवस्थाको दुरुपयोग गरेर नियम विपरित रकम दिने र नियमानुसार ब्याज समेत नलिने गरेको देखिएको छ ।

यो चलखेलमा प्रभु बैंक लि. लाई एक अर्ब रुपैया भन्दा बढी रकम हानी नोक्सानी पुर्‍याएको समेत प्रारम्भिक अनुसन्धानको क्रममा देखिएको ब्युरोले जनाएको छ ।

सोही अनुसन्धानका सिलसिलामा ललितपुर महानगरपालिका, वडा नं. १७, कनिवहाल घर भएका शाक्य बुधबार पक्राउ गरिएको ब्युरोले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।