एमालेको ११ औं महाधिवेशनमा विदेशी पाहुना नबोलाइने, नेपालका १६ दललाई निम्तो


काठमाडाैँ । नेकपा एमालेले ११ औं महाधिवेशनमा विदेशी पाहुनाहरूलाई नबोलाउने भएको छ । 

बिहीवार पार्टी केन्द्रिय कार्यालय च्यासलमा बसेको महाधिवेशन मूल व्यवस्थापन सचिवालय बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै एमाले नेता महेश बर्तौलाले यसबारे जानकारी गराएका हुन् ।

उनकाअनुसार एमालेले भौतिक उपस्थिति हुनका लागि विदेशी राजनीतिक दलहरुलाई आमन्त्रण नगरिएको बरू विभिन्न देशका २६ वटा राजनीतिक दलहरूलाई शुभकामना पत्र पठाउन भनिएको छ । एमालेको ११ औं महाधिवेशन मंसिरको २७ गतेबाट २९ सम्म काठमाडौँमा सुरू हुँदैछ । जसमा नेपालमा रहेका विभिन्न १६ राजनीतिक दलहरूलाई आमन्त्रण गरिएको छ ।

महाधिवेशनमा एमालेले जनपरिचालनलाई विशेष प्राथमिकता दिएको पनि नेता बर्तौलाले बताए । लाखौँको संख्यामा नेता, कार्यकर्ताहरु महाधिवेशनका लागि काठमाडौं आउने क्रम जारी रहेको बताए ।

असंवैधानिक क्रियाकलप गर्ने, अलोकतान्त्रिक ढंगबाट मुलुक लैजान खोज्ने तत्वहरूलाई खबरदारी गर्ने सन्देश संप्रेषण गर्ने ध्येयका साथ जनपरिचालनमा ध्यान दिइएको नेता बर्तौलाले बताए । महाधिवेशनमा १ सय ८ जना मनोनितसहित २ हजार २ सय ६८ कुल प्रतिनिधि रहने बताए । बिहीवार बसेको बैठकले बाँकी रहेका कामहरु तत्काल सम्पनन गर्ने र महाधिवेशन व्यवस्थित गर्नेमा जोड दिइएको बताए ।

उनले नेकपा एमालेले युवाहरुलाई महत्वपूर्ण स्थान दिने बताए । १६५ वटा निर्वाचन क्षेत्रबाट हरेक ४ जना प्रतिनिधिमा १ जना ४० मुनिका युवालाई समेट्ने गरी कानूनी वैधानिक सुनिश्चितता गरिएको बताए ।