एक वर्षमा १ करोड २५ लाखले लिए बिमामार्फत स्वास्थ्य सेवा


काठमाडाैँ । अघिल्लो आर्थिक वर्षमा १ करोड २५ लाखले अस्पतालमै पुगेर स्वास्थ्य सेवा लिएका छन् । 

स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेकाअनुसार औषतमा एउटै मान्छे ५ पटक अस्पताल गएर सेवा लिएको देखिन्छ । २५ लाख मान्छेले एकपटक मात्र अस्पताल पुगेर सेवा लिएका छन् ।

स्वास्थ्य बिमा बोर्डले आयोजना गरेका एक कार्यक्रमा उनले अस्पतालमा गएर स्वास्थ्य बिमा कार्यक्रममार्फत सेवा लिनेको संख्या ठूलो मात्रमा बढेको बताए । काफ्लेकाअनुसार यो तथ्याङ्क प्रत्येक वर्ष बढ्दै गएको छ ।

कार्यकारी निर्देशक काफ्लेले गुणस्तरीय सेवा बढाउन र लागत घटाउन नेपालमा स्वास्थ्य बिमाले नै निर्णय भुमिका खेल्ने समेत बताए । उनकाअनुसार बिमा कार्यक्रममार्फत कभरेज बढाउनका लागि कामहरू भइरहेको छन् । धेरै भन्दा धेरै नागरिकलाई स्वास्थ्य बिमाको दायरामा ल्याउने प्रयास भइरहेको छ । स्वास्थ्य बिमा ऐन, २०७४ लाई सुधारेर लैजान कामहरु समेत भइरहेको उनले बताए ।

काफ्लेकाअनुसार नयाँ दररेटहरू निर्धारण गर्ने समेत तयारी छ । अहिलेका प्याकेजहरूलाई समेत सुधारेर अघि बढिनेछ भने अब प्रत्येक स्वास्थ्य सेवा सुविधाको बारेमा यसै आर्थिक वर्षबाटै क्याम्पेन सञ्चालन गरिनेछ । अहिले स्वास्थ्य सेवा उपलव्ध गराएका अस्पताललाई समयमै भुक्तानी गर्न स्रोतको चरम अभाव परिरहेको छ । बिमा कोषलाई बलियो बनाएर प्रभावकारी रुपमा सेवा सञ्चालनका लागि गृहकार्य भएको उनले बताए ।

‘स्रोतको अभावका कारण कार्यक्रम प्रभावकारी बन्न सकेन’

स्रोतको अभावका कारण कार्यक्रम प्रभावकारी बन्न कठिन भइरहेको सरोकारवालाहरूले बताए । धुलिखेल अस्पतालका डाक्टर बलाराम मल्लले स्वास्थ्य बिमामार्फत प्रवाह हुने स्वास्थ्य सेवा गुणस्तरीय गराउन बोर्ड लाग्नुपर्ने बताए । उनले गुणस्तरीय सेवा दिन नसके बिमित निराश बन्नुपर्ने अवस्था आउने र स्वास्थ्य बिमा कार्यक्रम प्रभावकारी हुन नसक्ने बताए । उनले स्वास्थ्य बिमाले भुक्तानी गर्नुपर्ने रकम समयमै नदिँदा पनि समस्या हुने गरेको बताए ।

कार्यक्रममा स्वास्थ्य बिमा बोर्डका सदस्य डा. मुक्तिराम श्रेष्ठले स्वास्थ्य बीमा बोर्ड परनिर्भर बन्दा पनि कार्यक्रम प्रभावकारी बन्न नसकेको बताए । उनकाअनुसार वार्षिक पौने ४ अर्ब प्रिमियर बोर्डले उठाइरहेको छ तर १४ अर्ब अस्पतालहरूलाई तिर्नुपर्ने हुन्छ । प्रत्येक वर्ष १० अर्ब स्वास्थ्य बीमाले तिर्दै जाँदा धान्नसक्ने स्थिति नरहेको बताए । 

उनकाअनुसार नेपालमा स्वास्थ्य सबैको पहुँचमा हुनुपर्छ । पहुँच विस्तारका लागि आवश्यक जनशक्ति हुन जरुरी छ भने स्वास्थ्य संस्थाहरूको पहुँच पनि विस्तार हुनुपर्छ । अहिले ६० प्रतिशतभन्दा बढी स्वास्थ्य संस्थाहरू शहरी क्षेत्रमा स्वास्थ्य संस्थाहरू छन् । बाँकी १५–२० प्रतिशत स्वास्थ्य संस्थाहरू ग्रामिण क्षेत्रमा छन् ।

ग्रामिण भेगमा ६०–६५ प्रतिशत जनता छ । त्यहाँ अस्पतालको पहुँच नहुँदा शहरी क्षेत्रका स्वास्थ्य संस्थाबाट उनीहरुले सेवा लिनुपर्ने बाध्यता रहेको डाक्टर श्रेष्ठले बताए । स्वास्थ्य सेवा वितरणमा अहिले एकदमै असमानता रहेको उनको भनाइ रहेको छ । श्रेष्ठकाअनुसार स्वास्थ्य बिमाको प्रथम सेवा बिन्दुलाई स्थानीय तहसँग समन्वय गरेर विस्तार गर्नुपर्छ । प्रथम सेवा बिन्दुबाटै धेरै कुराहरू त्यही समाधान होस् भन्ने हिसावले राखिएको समेत उनले बताए ।