जेनजी र सरकारबिच भएको सम्झौताप्रति ओलीको टिप्पणीः ‘कलाबिहीन भद्दा नाटक’


काठमाडाैँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जेन–जी र सरकारबीच भएको सम्झौता कलाबिहीन भद्दा नाटक भएको टिप्पणी गरेका छन्। 

बिहीवार राजधानी काठमाडौँमा सम्पादकहरूसँगको संवादमा उनले यस्तो टिप्पणी गरेका हुन् । उनले वर्तमान सरकारले प्रणाली र व्यवस्थाबारे कुनैपनि प्रकारको सम्झौता गर्न नमिल्ने बताए ।

उनले कुनैपनि प्रणाली र व्यवस्थाका बारेमा सम्झौता गर्ने म्याण्डेट यो सरकारले कहाँबाट पायो ? भन्दै प्रश्न गरे।उनले सरकार र जेनजीबीच भएको सम्झौता सोही ठाउँमा च्यातेर अस्वीकार भएको भन्दै धेरै टिप्पणी गर्न आवश्यक नहुने तर्क गरे ।

“हिजो एउटा कलाविहीन नाटक भयो । त्यसमा धेरै भन्नुपर्छ र ? यो सरकारले कुनैपनि प्रणाली र व्यवस्थाका बारेमा सम्झौता गर्ने म्याण्डेट कहाँबाट पायो ? गोबर टाँसेको सरकारले कलाबिहीन नाटक गर्यो नि । त्यहीँ अस्वीकार भयो नि । त्यहीँ च्यातिदियो नि । त्यसकारण त्यो कलाबिहीन भद्दा नाटक हो,” उनले भने ।

उनले संसद पुनःस्थापनाको विकल्प नभएको पनि बताए । वर्तमान सरकारले निर्वाचन गराउन नसक्ने जिकिर गर्दै संसद पुनःस्थापन नै अन्तिम विकल्प भएको बताए ।