कार्की सरकार असंवैधानिक हो, कुनै प्रतिष्ठान मास्ने अधिकार छैनः ओली


काठमाडाैँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सुशीला कार्की नेतृत्वको सरकारका क्रियाकलाप पूर्णतः गैरकानूनी र असंवैधानिक रहेको आरोप लगाएका छन् ।

बिहीवार राजधानी काठमाडौँमा सम्पादकहरूसँगको संवादमा उनले यस्तो आरोप लगाएका हुन् । उनले जेन–जी आन्दोलनको अनुसन्धानका लागि गठित जाँचबुझ आयोगमा बयान दिन जाने कि नजाने आफ्नो व्यक्तिगत कुरा भएको समेत टिप्पणी गरे ।

उनले जाँचबुझ आयोगको मनशाय के छ भन्नेकुरा सञ्चारमाध्यमहरूमा आयोगका सदस्यहरुले व्यक्त गरेका अभिव्यक्तिहरूबाट पुष्टी भइसकेको समेत बताए ।

वर्तमान सरकार अन्तरिम सरकारमा मात्र नभई असंवैधानकि सरकार भएको समेत उनको आरोप छ ।

उनले वर्तमान प्रधानमन्त्री कार्कीलाई निर्वाचन गराउन राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गरेको जिकिर गर्दै कुनै प्रतिष्ठान मास्ने अधिकार नरहेको समेत टिप्पणी गरे ।

उनले समय एकनासले नचल्ने उल्लेख गर्दै होस गरेर अगाडि बढ्न समेत सरकारलाई चेतावनी दिए । 

उनले आफूलाई बालुवाटार भागेको भन्ने टिप्पणी आउने गरेको भन्दै नभागेको भए के गर्नुहुन्थ्यो ? भन्दै जे–नजी नेताहरूलाई प्रश्न गरे ।