सञ्चारमन्त्रीको टिप्पणीः नेताहरू घाटमा जाने बेलासम्म पनि आफैँ नेता, अध्यक्ष र प्रधानमन्त्री बन्छन्


काठमाडाैँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेपाली राजनीतिमा अब युवाहरूको दबदबा कायम हुने दाबी गरेका छन् । 

शुक्रवार राष्ट्रिय युवा परिषद्ले आयोजना गरेको सामाजिक जवाफदेहिताः मिडिया र युवा संवाद विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजनीतिमा युवाहरुको उपस्थितिलाई कसैले रोकेर नरोकिने बताएका हुन् ।

उनले राजनीतिलाई नीतिहरूको राजा मान्ने हो भने समावेशिता, ३३ प्रतिशत महिला प्रतिनिधित्व कायम र युवाहरुको उपस्थिति अनिवार्य रहेको बताए ।

राजनीतिक दलहरूलाई युवाहरूलाई राजनीतिक नेतृत्वमा ल्याउनका लागि तयार नभइ सुख नरहेको जिकिर गरे । घाटमा जाने बेलासम्म पनि आफैँ नेता बन्ने, आफैँ प्रमुख बन्ने, आफैँ प्रधानमन्त्री बन्ने, आफैँ अध्यक्ष बन्ने गरेको टिप्पणी गरे ।

“नेपाली राजनीतिमा अब युवाहरुको दबदबा कायम हुनेवाला छ । जबरजस्त उपस्थिति हुनेवाला छ । कसैले रोकेर रोकिँदैन । पार्टीभित्र र नयाँ पार्टीभित्र । यदी नीतिहरुको राजा राजनीति मान्ने हो भने अब हरेक राजनीतिक पार्टीहरूले स्पष्ट रूपमा समावेशिता, ३३ प्रतिशत महिला प्रतिनिधित्व कायम गर्नुपर्छ,”उनले भने ।

मन्त्री खरेलले नेपालको वर्तमान स्थितिले युवा राजनीति र नेतृत्वमा जाज्वल्यमान उज्यालो ल्याउने बताए ।