काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बजारमा बिक्री वितरण भएको ‘चिकम्यास’ ब्राण्डको धुलो मिक्स मसला फिर्ता गर्न आदेश जारी गरेको छ।
विभागले बजार अनुगमनको क्रममा सङ्कलन गरिएको नमुना परिक्षण गर्दा उक्त मसलामा कुल भष्मको स्तर अधिकतम सीमा १० प्रतिशत भन्दा बढी रहेको पाइएको हो। यस कारण उक्त ब्याच न्यूनस्तरको खाद्य पदार्थको रुपमा चिनिएको छ।
खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को दफा ३८(२) र उपदफा (४) अनुसार विभागले उक्त ब्याच नम्बरको सबै मसलालाई बजारबाट तुरुन्तै फिर्ता ल्याउन र बिक्री वितरण नगर्न आदेश दिएको छ।
फिर्ता आदेशमा उल्लेखित खाद्य पदार्थको ब्याच नम्बर ०७ हो, निर्माण मिति जुलाई २०२५ र समाप्ति मिति डिसेम्बर २०२६ रहेको छ। आयातकर्ता रुचिका ट्रेड प्रा. लि काठमाडौँ र उत्पादक एस्भेरा एग्रो लिमिटेड, धतुरी, सोनीपत, हरियाणा, भारत रहेको छ।
विभागकी प्रवक्ता डा. बालकुमारी शर्माले उपभोक्तालाई उक्त ब्याचको मसला प्रयोग नगर्न सचेत गराउँदै बिक्रीमा संलग्न व्यापारीले फिर्ता प्रक्रिया तुरुन्तै पूरा गर्न आग्रह गरेकाे छ ।



प्रतिक्रिया दिनुहोस्