काठमाडौँ । खाद्य तथा गुण नियन्त्रण विभागको नेपालगञ्ज कार्यालयले बाँकेमा अवस्थित विभिन्न विद्यालय क्यान्टिनहरू र खाद्य व्यवसायहरूमा गरेको निरीक्षण–अनुगमनका क्रममा अनियमितता भेटिएपछि कारबाही गरिएको छ। विभागले गत मंसिर २५ गते गरिएको अनुगमनको विवरण सार्वजनिक गरेका हाे ।
विभागका अनुसार, नेपालगञ्ज–१० आदर्श परिसरमा रहेको दिर्घायु खाजा घर को क्यान्टिनमा भान्साको सरसफाइ असन्तोषजनक देखिएको, भाँडा माझ्ने स्थान अव्यवस्थित रहेको तथा खाद्य स्वच्छता मापदण्ड पालन नगरेको पाइएको थियो। संयुक्त अनुगमन टोलीको रोहबरमा क्यान्टिन सञ्चालन रोक लगाइएकाे र देखिएका कमीकमजोरी सुधार गरी कार्यालयमा जानकारी गराउन निर्देशन गरिएको विभागले जनाएको छ।
त्यस्तै, आदर्श माध्यमिक विद्यालयले स्वयं सञ्चालन गर्दै आएको भान्सामा सरसफाइ अवस्था सन्तोषजनक रहे पनि खाद्य पदार्थ तार्न प्रयोग भएको तेल पटक–पटक प्रयोग भएको तथा तयारी खाद्य पदार्थ पत्रपत्रिकामाथि राखिएको पाइएको छ। विद्यालयलाई तेल दोहोर्याएर प्रयोग नगर्न, खाद्य पदार्थ पत्रपत्रिकामा नराख्न र समग्र खाद्य स्वच्छता कायम गर्न निर्देशन दिइएको छ।
यस्तै, मोडर्न पब्लिक स्कूलको क्यान्टिनमा पनि पत्रपत्रिकामाथि तारेका खाद्य सामग्री राखेर बिक्री गरिएको तथा तार्ने तेल बारम्बार प्रयोग गरिएको अनुगमनले देखाएको छ। साथै, क्यान्टिनलाई भण्डारण कक्षजस्तो देखिने गरी अव्यवस्थित रूपमा सामान राखिएको पाइएकाले संयुक्त टोलीको रोहबरमा क्यान्टिन सञ्चालनमा रोक लगाइए विभागकी प्रवक्ता डा. बाल कुमारी शर्माले जानकारी दिइन् ।



प्रतिक्रिया दिनुहोस्