एक लाख घुस खाएको आरोपमा सर्भेक्षक र कार्यालय सहयोगीविरुद्ध मुद्दा


काठमाडौँ । पर्सा नापी कार्यालयका सर्भेक्षक राम प्रमोद राउत र कार्यालय सहयोगी अरुण प्रसाद उपाध्यायमाथि सेवाग्राहीसँग घुस/रिसवत लिएको आरोपमा विशेष अदालत, काठमाडौँमा मुद्दा दायर गरिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालले प्राप्त सूचना र उजुरीका आधारमा दुवै कर्मचारीलाई मंसिर २ गते एक लाख रुपैयाँ घुस/रिसवत लिँदै गर्दा नियन्त्रणमा लिएको थियो।

अनुसन्धानको क्रममा उनीहरूले आपसी मिलेमतोमा जिल्ला पर्सा, वीरगंज महानगरपालिका वडा नं. २५ स्थित कि.नं. ५, क्षेत्रफल ०.००६४ वर्गमिटर जग्गा छुट दर्ता गराउने बहानामा सेवाग्राहीसँग रकम लिएको तथ्य स्थापित भएको छ।

अख्तियारले दुवै कर्मचारीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम बिगो रु. १ लाख कायम गरी जरिवाना र कैद सजायको माग गर्दै आरोपपत्र दायर गरेको छ।