‘राष्ट्र बैंकका अव्यवहारिक नीति र कमजोर कार्यान्वयनले निष्क्रिय कर्जा बढ्दैछ’


काठमाडाैँ । नेपाल राष्ट्र बैंकले लिने कतिपय नीतिहरु अव्यवहारिक भएका कारण पछिल्लो समय निष्क्रिय कर्जा बढ्ने गरेको विज्ञहरूले बताएका छन् । 

बैंक तथा फाइनान्स एण्ड इन्सुरेनस इन्टिच्युट अफ नेपालले गरेको एक कार्यक्रममा विज्ञहरूले निष्क्रिय कर्जा बढ्नुको एक कारण राष्ट्र बैंककै कतिपय नीतिहरू रहेको बताए ।

पूर्वबैंकर ज्ञानेन्द्र ढुंगानाले राष्ट्र बैंकका निर्देशनहरू अव्यवहारिक हुँदा निष्क्रिय कर्जा बढेको बताए । उनकाअनुसार कर्जा रिकभरि गर्न ऋणीलाई चिठी कट्ने गरिएको छ । नतिरे ३५ दिने कालोसूचिको सूचना निकाल्ने र लिलाम गर्ने गरिएको छ । तर त्यो लिलामी गर्न पनि सकस पर्ने गरेको छ । 

“राष्ट्र बैंकका निर्देशनहरू केही अव्यवहारिक भएका कारण हाम्रो आहिलेको एनपीए बढेजस्तो मलाइ लाग्छ । हामीले नेपाल बैर्कस संघबाट पनि धेरै अनुरोध गरेका हौँं । ९० दिन पुग्दा बित्तिकै २५ प्रतिशत राख्नुपर्ने, हामीसँग केही बाध्यता हुँदैन । ऋणीले साबा ब्याज नतिर्दा अहिले हामीले गर्ने भनेको चिठी काट्ने हो, तिरेन भने ३५ दिने सूचना निकाल्ने हो, फेरि नतिरे अर्को १५ दिन निकाल्ने हो । लिलाम गर्ने हो तर लिनसक्ने होइन । सक्ने भए एनवीए लिने हो विक्री हुँदैन,” उनले भने ।

उनले विजनेस बुझेर अघि बढ्न जरुरी रहेको बताए । उनकाअनुसार किन बिजनेस फेल भयो त्यसतर्फ पनि ख्याल गरिनुपर्छ । बैंकको सानो सहयोगले प्रवाह गरिएको ऋणीको बिजनेस चलायमान हुन्छ भने त्यस्तोमा सपोर्ट गर्नुपर्छ । 

नेपाल राष्ट्र बैंकले यदी चलिरहेको बिजनेस छ भने डिफल्ड भयो भने फेरि चलायमान हुनसक्छ भने छोटो समयका लागि कर्जा दिनसक्ने व्यवस्था गर्नुपर्ने ढुंगानाले बताए ।

ढुंगानाकाअनुसार भूकम्प, कोभिडको बेला सबै ऋणीलाई १०/२० प्रतिशत कर्जा दिन राष्ट्र बैंकले भनेको थियो । त्यतिबेला एनपीए भएपनि थपिएर दिइएको थियो । त्यसैकरण एनपीए घटेको थियो । राष्ट्र बैंकले कर्जा दिन भन्दा निष्कृय कर्जा नहुने बैंक आफैँले दिदाँ एनपीए हुने त्यस्तो हुनुहुँदैन ।

एनपीएको परिभाषा र प्रोभिजनको व्यवस्थामा सुधार गरिनुपर्ने उनले बताए। सुधार नगरिए आजको अर्थतन्त्रको स्थीति हेर्दा खराब कर्जा बढेर जाने प्रशस्त सम्भावना रहेको उनको बुझाइ रहेको छ । 

उनकाअनुसार भुकम्पमा दिएका ऋणहरु अझै ऋणीले तिरेका छैनन्, कोभिडमा दिएका कर्जाहरू पनि बैंकहरूले उठाउन सकेको अवस्था छैन । 

ढुंगानाकाअनुसार मुलुकमा राजनीतिक अस्थीरता रहँदा सम्म लगानीगर्न लगानीकर्ताहरू हिच्किचाउँछन् । अहिले लगानीकर्ताको मनोबल कमजोर भएको छ । यसलाई उठाउन जरुरी छ । छिट्टै चुनाव भएर मुलुकमा स्थायित्व हुन जरुरी रहेको समेत उनले बताए ।

नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक देवकुमार ढकालले भने राष्ट्र बैंकले ल्याएका नीतिहरू बैंकहरूले सही रुपमा कार्यान्वयन नगर्दा पनि समस्या भइरहेको बताए । उनकाअनुसार पुनःकर्जाका सुविधाहरुलाई बैंकहरुले सही रूपमा प्रवाह गरिदिएनन् । सोही कारण कतिपय उद्योगी व्यापारीहरू अप्ठ्यारोमा परे र उनीहरु पलायन नै हुनुपर्ने स्थिति आयो ।

ढकालकाअनुसार राष्ट्र बैंकले बैंकहरुलाई दिएका सुविधामार्फत ग्राहकलाई सन्तुष्टी पार्न चुकिरहेको बताए । उनकाअनुसार बैंकहरूले ओभर फाइन्नासिङ रोक्न चुकेका कारण पनि खराब कर्जा बढिरहेको छ । राष्ट्र बैंकले दिन भनेको अतिरिक्त लोनलाई बिजनेस रिकभरीमा लगाउन भनेपनि सोहीअनुसार लगाउन नसक्दा पनि समस्या भएको बताए।

तत्कालिन अवस्थाको फाइदालाई लिएर आफ्नो ब्यालेन्स सिट सुधारमा बैंकहरू लाग्न नहुने उनको भनाइ छ । बैंकहरूले ऋणीलाई बारम्बार ताकेता गर्दा ऋणीहरु झन् प्रताडित बन्ने र बैंकरहरू गाउँ जान नसक्ने स्थीति समेत आउन सक्ने उनको भनाइ छ । 
पूर्वबैंकर पर्शुराम कुँवर क्षत्रीले नियमनमा चुक्दा पनि अहिलेको खराब कर्जा बढिरहेको बताए । उनकाअनुसार सही रुपमा कर्जाको नियमन भएका बैंकहरूको ब्यालेन्स सिट राम्रो छ । उनकाअनुसार बैंकहरूले धितोका आधारमा मात्रै ऋण दिनु हुँदैन ।

क्षेत्रीकाअनुसार समग्र अर्थतन्त्र खस्कँदा व्यापार–व्यवसाय प्रभावित भएको छ र  खराब कर्जा बढेको हो । अहिले व्यापार–व्यवसाय छैन । त्यसैले ग्राहकको कर्जा चुक्ता गर्ने क्षमता पनि कमजोर भएको छ । बजारमा देखिएको नकारात्मक मनोविज्ञानले पनि अहिलेको अवस्था सिर्जना गर्न भुमिका खेलेको जस्तो लाग्ने उनले बताए ।