काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सले जितेको छ। फाइनलमा सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गर्दै लुम्बिनीले उपाधि आफ्नो नाममा लेखाएको हो।
टस जितेर पहिले ब्याटिङ रोजेको सुदूरपश्चिम रोयल्स निर्धारित ओभर पूरा गर्न नसकी सबै विकेट गुमाउँदै ८५ रनमै समेटियो। कमजोर स्कोरको लक्ष्य पछ्याएको लुम्बिनीले ९ ओभरमै ४ विकेटको क्षतिमा ८६ रन बनाउँदै सहज जित दर्ता गर्यो। यससँगै सुदूरपश्चिम भने लगातार दोस्रो पटक फाइनलमा पुगेर पनि उपविजेतामै सीमित हुन बाध्य भयो।
लुम्बिनीको जितमा ओपनर दिनेश अधिकारीले विस्फोटक ब्याटिङ प्रस्तुत गरे। उनले मात्र १३ बलमा ४२ रनको आक्रामक पारी खेले। अर्का ओपनर डार्सी शटले १३ बलमा १४ रन जोडे। नटआउट रहेका निरोशन डिकवेलाले १२ बलमा ११ रन बनाए भने कप्तान रोहित पौडेलले १२ बलमा १६ रनको योगदान दिए। सन्दिप जोरा शून्य रनमै आउट भए। अन्त्यतिर दिलिप नाथ १ रनमा नटआउट रहे। लुम्बिनीले २ अतिरिक्त रन पनि प्राप्त गरेको थियो।
बलिङतर्फ सुदूरपश्चिमका कप्तान दीपेन्द्र सिंह ऐरीले १ विकेट लिए। हेमन्त धामीले २ विकेट हात पार्दा अविनाश बोहराले १ विकेट लिए।



प्रतिक्रिया दिनुहोस्