मौलिक खाना प्रवर्धन गर्न काठमाडौँ महानगरपालिकाद्धारा खाद्य मेला


काठमाडाैँ । काठमाडौँ महानगरपालिकाले रैथाने मौलिक खानाहरूको  प्रवर्द्धनका लागि मेला आयोजना गरेको छ । 

महानगरले आइतवार नक्शालको नारायण चौरमा रैथाने मौलिक खाद्य मेला, २०८२ आयोजना गरेको हो । स्थानीय खानाहरूको  प्रवर्द्धन र बजारीकरण गर्न सहयोग गर्ने उद्देश्यले मेला आयोजना गरिएको काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले जानकारी दिइन् ।

उनका अनुसार महानगरले परम्परागत रैथाने खाना र खाद्य सामग्रीहरूलाई बजारीकरण गर्नको लागि गतवर्षदेखि मेला गर्दै आएको छ । महानगरले बजार अनुगमनको क्रममा धेरैले खाद्य सुरक्षाको मापदण्डको पालना गरेको नपाइएकाले गतवर्ष फुड हाईजिन एण्ड सेफ्टीको बुटक्याम्प नै आयोजना गरेको जानकारी दिए ।

साना व्यवसायीहरूलाई महानगरले फुड हाईजिन र सेफ्टीको तालिम दिएर उनीहरूले उत्पादन गरेका रैथाने खानाहरूलाई पनि प्रवद्र्धन गर्न सहयोग गरेको उनको भनाइ छ । तालिमपश्चात व्यवसायीहरूको चाहनाअनुसार नै खाद्य मेला आयोजना गरेको उनले जानकारी दिइन्। । मेलामा रैथाने खाद्यवस्तुको किनमेलका साथै जानकारी पनि लिन सकिने उनले बताइन् । गतवर्ष दरबार हाई स्कुलमा खाद्य मेला भएको थियो । 

मेलाका धेरै स्टलहरूमा खानको लागि तयार पारिएका खाद्यवस्तु राखिएका छन् भने खाद्यवस्तु विक्री वितरणको लागि पनि राखिएका छन् ।

मेलामा रैथाने नेवारी परिकार योमरी, चीज, बारा, मःम, अचार, लड्डु, सुत्केरी मसला लगायत अन्य स्थानीय उत्पादनहरू राखिएका छन् । मेलामा मनोरञ्जनको लागि परम्परागत संस्कृति झल्किने बाजागाजा संगीत पनि रहेको छ ।