पर्यटनमन्त्री सिन्हाको प्रतिवद्धताः कुनैपनि दबाबमा नपरी काम गर्नेछु


काठमाडाैँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हाले आफू कुनैपनि खालको दबाब लिने पक्षमा नरहेको बताएका छन् ।

आइतवार सिंहदरबारमा पदभार ग्रहण गर्ने क्रममा उहाँले सञ्चारकर्मीहरूमाझ संक्षिप्त प्रतिक्रिया दिँदै सो प्रतिक्रिया दिएका हुन् । मन्त्री सिन्हाले आफू मातहतको संस्थाहरूको नेतृत्व चयन प्रक्रिया सोही संस्थाको हितमा केन्द्रित हुनेगरी गर्ने समेत बताए ।

कसैको दबाब र प्रभावमा परेर आफूले संस्थाहरुको नेतृत्व नियुक्ति नगर्ने उनको भनाइ थियो । मन्त्री सिन्हाले सञ्चार माध्यामहरूले दिने सूचनाहरू आफ्नो कार्य सम्पादनमा प्राथमिकतामा पर्ने समेत स्पष्ट पारे ।

“मलाई नियुक्ति गरिदेउ भन्ने दबाब पनि छैन । दबाब लिनेवाला पनि छैन । तर जे गर्छु, तत्तत संस्थाहरूकाे हितमा हुनेगरी काम गर्छु । हिमाली क्षेत्रहरूमा भएका जुन फोहोरहरू हुन्छ । ती फोहोरहरू यति जम्मा भएर बसेका थिए,” उनले भने ।

त्यस अवसरमा मन्त्री सिन्हाले हिमाली क्षेत्रमा रहेका फोहोरहरू व्यवस्थापन गर्ने सम्बन्धि पहिलो निर्णय पनि गरे । अदालतले समेत सो विषयमा आदेश दिइसकेकाले त्यसलाई कार्यान्वयनमा लैजाने कार्यनीति स्वीकृत गर्ने निर्णय आफूले गरेको उनले बताए ।