काठमाडाैँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमेयर सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगका अनुसार गोकर्णेश्वर नगरपालिका, काठमाडौँका तत्कालीन नगर प्रमुख सन्तोष चालिसेले मेयरको कार्यकाल (२०७४\०२\०८ देखि २०७९।०३।३२) मा पदीय मर्यादा विपरीत कार्य गर्दै रु. ३ करोड ६८ लाख ४७ हजार ७६१.७१ बराबरको गैरकानूनी सम्पत्ति आर्जन गरेको आरोप छ।
जाँचमा देखा परेको तथ्यअनुसार चालिसे र उनका परिवारका सदस्यहरूले वैधानिक रूपमा आर्जन गरेका आयको कुल रकम रू.४८ लाख ८३ हजार ८३३.६२ मात्र देखिएको छ, तर सोही अवधिमा उनीहरूले गरेको कुल खर्च र लगानी रू.८५ करोड ६८ लाख ३५ हजार ९५.३३ पुगेको देखिएको छ। जसबाट कुल आयभन्दा बढी व्यय भएको स्पष्ट भएको छ।
आयोगका अनुसार चालिसेले आफ्नो वा परिवारका सदस्यहरूको नाममा रहेको सम्पत्तिको स्रोत वा निस्सा सही रूपमा सार्वजनिक नगरी गलत विवरण पेश गरेका छन्। यसरी लुकाई छिपाई गरिएको सम्पत्ति र बैंक तथा सहकारीबाट लिएको कर्जा विवरण समेत नमिल्ने आयाेगले जनाएकाे छ ।
भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २०, १६, २४ र ५० अनुसार कारबाहीका लागि विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरिएको छ। चालिसेसँगै उनकी पत्नी मन्दिरा चालिसे, छोराहरू सागर र सन्जिव चालिसे तथा बुहारी प्रमिला पोखरेललाई समेत दोषी ठहर गरिनुपर्ने माग गरिएको छ। आयोगले चालिसेले गैरकानूनी रूपमा आर्जन गरेको सम्पत्ति जफत गरी जरिवाना र कैद गर्न माग गरेको छ।



प्रतिक्रिया दिनुहोस्