२६१ प्रतिनिधिको सहभागितासहित लिटिल एन्जल्स मोडल युनाइटेड नेसन्स ९.० सुरू


काठमाडाैँ । लिटिल एन्जल्स मोडल युनाइटेड नेसन्स (लामुन) ९.० को नवौँ संस्करण काठमाडौँ उपत्यकाका विभिन्न प्रतिष्ठित विद्यालयहरूका २६१ प्रतिनिधिहरूको सहभागितासहित भव्य समारोहका बिच शनिवार औपचारिक रूपमा सुरू भएको छ।

तीन दिनसम्म सञ्चालन हुने यस शैक्षिक सम्मेलनलाई नौ वटा फरक–फरक समितिमार्फत अघि बढाइँदैछ, जसका कारण यो संस्करण हालसम्मकै सबैभन्दा ठूलो बनेको आयोजकले जनाएको छ।

कार्यक्रमको उद्घाटन प्रमुख अतिथि डा. दिनेश भट्टराईले पानसमा दीप प्रज्वलन गरी गर्नुभयो। उद्घाटन सत्रलाई सम्बोधन गर्दै लिटिल एन्जल्स कलेज जि.सि.इ. ए–लेभल का प्रिन्सिपल टेकनाथ पौडेलले सबै अतिथि तथा सहभागी प्रतिनिधिहरूलाई स्वागत गर्दै यस वर्ष लामुनमा इतिहासकै सबैभन्दा बढी विद्यार्थीको सहभागिता रहेको जानकारी दिए ।

उनले सम्मेलनको नवौँ संस्करणले युवा विद्यार्थीहरूमा नेतृत्व क्षमता, प्रभावकारी सञ्चार र आलोचनात्मक सोचको विकास गर्दै कूटनीतिक अभ्यासतर्फ उन्मुख गराउने लक्ष्य लिएको उल्लेख गरे।

विशेष अतिथि तथा युवा उद्यमी सबिल खानले सन् २०१४ मा आयोजित लामुनको पहिलो संस्करणमा सहभागी हुँदाको आफ्नो अनुभव सुनाउँदै प्रतिनिधिहरूलाई प्रेरित गरे । मोडल युनाइटेड नेशन्सबाटै आफ्नो आत्मविश्वास र नेतृत्व क्षमताको जग बसेको बताउँदै उनले विद्यार्थीहरूलाई यस मञ्चको अधिकतम उपयोग गर्न आग्रह गरे।

उद्घाटन समारोहकै क्रममा डा. दिनेश भट्टराईले महासचिव दीपक साउदलाई औपचारिक रूपमा ग्याभेल हस्तान्तरण गरे । आफ्नो सम्बोधनमा डा. भट्टराईले प्रतिनिधिहरूलाई उत्साह र इमानदारीका साथ सम्मेलनमा सहभागी हुन आग्रह गर्दै सैन्य वा आर्थिक रूपमा सशक्त नभए पनि नेपालले कूटनीति र प्रेरक संवादमार्फत अन्तर्राष्ट्रिय सन्तुलन कायम गर्न महत्वपूर्ण भूमिका खेल्न सक्ने बताउनुभयो। यस्ता अभ्यासहरूले विद्यार्थीहरूलाई वास्तविक विश्वका चुनौतीहरूसँग जुध्न तयार पार्ने उनको भनाइ थियो।

लिटिल एन्जल्स एजुकेशन ग्रुपकी कर्पोरेट डाइरेक्टर सृष्टि लिम्बुले सम्बन्धित समितिका अध्यक्ष तथा उपाध्यक्षहरूलाई ग्याभेल र ब्याज वितरण गरिन्।

उद्घाटन समारोहमा प्रमुख अतिथि डा. दिनेश भट्टराई, विशेष अतिथि सबिल खान, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लेफ्टिनेन्ट जनरल पी.बी. लिम्बु, कर्पोरेट डाइरेक्टर सृष्टि लिम्बु, लिटिल एन्जल्स कलेज अफ म्यानेजमेन्टका प्रिन्सिपल डा. मित्र बन्धु पौडेल, लिटिल एन्जल्स स्कूलका प्रिन्सिपल मुकुन्द राज शर्मा, लिटिल एन्जल्स स्कूल (प्लस टु) का प्रिन्सिपल कृष्ण दत्त अवस्थी, लिटिल एन्जल्स स्कूल डे बोर्डिङकी प्रिन्सिपल सरोजना राई तथा लिटिल एन्जल्स जनमैत्री फाउन्डेसनका प्रमुख प्रशासनिक अधिकृत देव राज घिमिरेलगायत विभिन्न प्रतिष्ठित व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

तीन दिनसम्म चल्ने लामुन९.० ले विद्यार्थीहरूलाई कूटनीतिक अभ्यासमा संलग्न हुन, विश्वव्यापी मुद्दाहरूमा गहिरो बहस गर्न तथा भविष्यका लागि आवश्यक नेतृत्व र संवाद कौशल विकास गर्न एक प्रभावकारी र गतिशील मञ्च प्रदान गर्ने अपेक्षा गरिएको छ।