सिकार खेल्न जँदा भरुवा बन्दुक पड्केर साथीको मृत्यु


काठमाडौँ । मकवानपुर, मनहरी–६ सिस्नेरी पाखामा सिकार खेल्न जाँदा भरुवा बन्दुक पड्केर सँगै गएका साथीको ज्यान गएको छ। आइतबार दिउँसो जंगलभित्र हिँडिरहेका बेला सन्तुलन गुम्दा पड्किएको भरुवा बन्दुकले साथीको ज्यान लिएको प्रहरीले जनाएको छ।

राक्सिराङ–८ राजराङका ४५ वर्षीय गोपाल ब्लोन जंगलको उकालो बाटोमा लहरामा अल्झिएर लड्दा उनको साथमा बोकेको भरुवा बन्दुक अचानक पड्किएको थियो। सो क्रममा पछाडि सँगै हिँडिरहेका मनहरी–६ बालुभञ्ज्याङका ५० वर्षीय सेते थिङको गोली लागेर घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाइ छ।

प्रहरीका अनुसार, दुवै जना अवैध सिकारको उद्देश्यले जंगल प्रवेश गरेका थिए र दुबैसँग भरुवा बन्दुक रहेको खुलेको छ। लड्ने क्रममा बन्दुक असावधानीपूर्वक पड्किँदा पछाडि रहेका थिङको ज्यान गएको प्रारम्भिक प्रहरीले जनाएको छ ।

घटनापछि ब्लोनलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय मनहरीमा राखेर थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक दीपक थापाले जानकारी दिए।