सालपा विकास बैंकको आइपिओमा आवेदन दिने आज अन्तिम दिन


काठमाडौँ । सालपा विकास बैंकको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । बैंकले पहिलो चरणअन्तर्गत वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागी गत मंसिर २५ गतेदेखि आईपीओ निस्काशन गरेकाे थियाे ।

बैंकले सर्वसाधारणलाई छुट्टाइएको मध्येबाट १० प्रतिशत अर्थात १ लाख ७२ हजार ३८८ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका जारी गरेको थियो ।

बैंकले नेपाल धितोपत्र बोर्डबाट गत मंसिर ८ गते १०० रुपैयाँ अंकित दरका १७ करोड २३ लाख ८८ हजार रुपैयाँ बराबरको १७ लाख २३ हजार ८८० कित्ता आइपीओ निष्कासनको अनुमति पाएको हो ।

जसमध्ये ५ प्रतिशत अर्थात ८६ हजार १९४ कित्ता सामूहिक लगानी कोषका लागि, ०.५० प्रतिशत अर्थात २६ हजार ११९ कित्ता कर्मचारीका लागि र १० प्रतिशत अर्थात १ लाख ७२ हजार ३८८ कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीहरुका लागि जारी गरिनेछ ।

वैदेशिक रोजगारीमा रहेका नेपालीले पनि न्यूनतम १० र अधिकतममा २५ हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले

धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा मेरो सेयर अनलाइनबाट समेत आवेदन दिन सकिनेछ ।

बैंकको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । पहिलो चरणअन्तर्गत वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि सेयर जारी गरिसकेपछि बैंकले दोस्रो चरणमा आम सर्वसाधारणलाई आईपीओ जारी गर्नेछ ।