कृषिलाई अर्थतन्त्रको मुख्य धारमा ल्याउनुपर्छः कृषिमन्त्री परियार


काठमाडाैँ । कृषि तथा पशुपंक्षी विकासमन्त्री डा. मदन परियारले नेपालको कृषि क्षेत्रलाई समावेशी, जलवायु उत्थानशील र दिगो बनाउन सरकार पूर्ण प्रतिवद्ध रहेको बताएका छन् ।

ललतिपुरमा सोमबार आयोजित नेपाल फुड फोरम २०२५ को उद्घाटन सत्रलाई सम्बोधन गर्दै मन्त्री परियारले कृषिलाई राष्ट्रिय आर्थिक विकासको शक्तिशाली इन्जिन बनाउने दृढ संकल्प व्यक्त गरे । उनले संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठनको ८० औँ वार्षिकोत्सवका अवसरमा दोस्रो नेपाल फुड फोरम सफलतापूर्वक आयोजना गरेकोमा धन्यवाद दिए ।

सरकारले कृषि लगानी दशक (२०२४–२०३४) घोषणा गरेको स्मरण गराउँदै मन्त्री परियारले कृषि क्षेत्रमा लगानी बढाएर संरचनात्मक आर्थिक रूपान्तरणलाई तिब्रता दिने प्रतिवद्धता दोहो¥याए । जलवायु जोखिम बढ्दै गएको सन्दर्भमा गत असोजमा भएको असामान्य वर्षाका कारण करिव ८६८ मिलियन रुपैयाँको आर्थिक नोक्सानी र १० हजार ८४० हेक्टर खेतीयोग्य जमिन प्रभावित भएको उदाहरण दिँदै उनले कृषि पुनरुत्थान र उत्थानशीलताका लागि सरकारी निकाय, संयुक्त राष्ट्रसंघ, निजी क्षेत्र, वित्तीय संस्था र विकास साझेदारहरूबिच समन्वयात्मक लगानी बढाउनुपर्नेमा जोड दिए।

मन्त्री परियारले भने, “नेपाल फुड फोरम २०२५ का छलफलहरूले कृषि–खाद्य प्रणालीलाई समावेशी, उत्थानशील र दिगो बनाउने साझा लक्ष्यका लागि विविध सरोकारवालाहरूको सामूहिक बुद्धि, प्रतिवद्धता र रचनात्मकता झल्काएको छ । महिला, दलित, युवा, आदिवासी जनजाति, अपाङ्गता भएका व्यक्ति र अन्य सीमान्तकृत समुदायको अधिकार, सहभागिता, नेतृत्व र निर्णय प्रक्रियामा पहुँच सुनिश्चित गर्न सरकार प्रतिबद्ध छ।”

उनले ठूलो अलैँची, अदुवा, आलु, सुन्तला, चिया, कफी जस्ता उच्च मूल्यका बालीलाई जलवायु उत्थानशील र निर्यातमुखी बनाएर ग्रामीण जीविकोपार्जन सुदृढ गर्ने, युवालाई नवप्रवद्र्धन र उद्यमशीलतामार्फत हरित रोजगारी सिर्जना गर्ने तथा विज्ञान, डिजिटलाइजेशन र मेकानाइजेशनलाई कृषिको आधार बनाउने कुरामा फोरमले महत्वपूर्ण मार्गदर्शन गरेको बताए ।

मन्त्री परियारले सबै सरोकारवालालाई फोरमबाट प्राप्त गति कायम राख्दै खाद्य सुरक्षित, पोषण संवेदनशील र जलवायु उत्थानशील नेपाल निर्माण गर्न हातेमालो गरेर अघि बढ्न आह्वान गरे ।