साउन २६ देखि ३१ सम्म भृकुटीमण्डपमा ‘नाइमा मोबिलिटी एक्स्पो २०२६’ आयोजना हुने


काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले आगामी वर्ष साउन २६ देखि ३१ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो’ आयोजना गर्ने भएको छ। नाइमाको पहिलो वार्षिक साधारण सभाले उक्त एक्स्पो आयोजना गर्ने निर्णय औपचारिक रूपमा पारित गरेको हो।

गत मंसिर २५ गते अध्यक्ष रितु सिंह वैद्यको अध्यक्षतामा कमलपोखरीस्थित नाइमाको कार्यालयमा सम्पन्न साधारण सभाले संस्थाको स्थापना देखि हालसम्मका गतिविधि र उपलब्धिको समीक्षा गर्दै आगामी वर्षका कार्यक्रम, रणनीति तथा संस्थागत संरचना अनुमोदन गरेको छ।

सभालाई सम्बोधन गर्दै अध्यक्ष वैद्यले छोटो समयमै नाइमा देशको मोबिलिटी क्षेत्रको एकीकृत र सशक्त प्रतिनिधि संस्थाका रूपमा स्थापित हुन सफल भएको बताइन्।

उनले पहिलो ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ को सफल आयोजनाले अटोमोबाइल क्षेत्रका सरोकारवालालाई एउटै थलोमा जोड्दै प्रविधि, नीतिगत बहस र सिकाइका अवसर सिर्जना गरेको उल्लेख गरिन् ।

नाइमाका कार्यकारी निर्देशक राजकुमार दुलालले आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षण प्रतिवेदन, वार्षिक कार्यक्रम तथा वित्तीय प्रतिवेदन प्रस्तुत गर्दै आगामी वर्षका लागि तय गरिएको कार्यक्रम र वित्तीय योजनाबारे जानकारी दिए। संस्थाको दीर्घकालीन उद्देश्य हासिल गर्न पारदर्शिता, प्रभावकारी कार्ययोजना र जिम्मेवार वित्तीय व्यवस्थापनमा नाइमा प्रतिबद्ध रहेको उनले बताए ।

साधारण सभाले आर्थिक वर्ष २०८२/८३ का कार्यक्रमहरू पनि पारित गरेको छ, जसमा नियमित मोबिलिटी संवाद, क्षमता अभिवृद्धि तालिम, क्षेत्रगत अध्ययन तथा अनुसन्धान, नीतिगत बहस र पैरवीलगायतका विषय समावेश छन्।

यसैगरी, संस्थागत सुदृढीकरण अन्तर्गत सदस्य आकाश गोल्छाको नेतृत्वमा स्ट्राटेजी तथा मेम्बरसिप अफेयर्स कमिटी गठन गर्ने निर्णय गरिएको छ। साथै, मेगाटेक ग्रुप प्रालिलाई नाइमाको नयाँ सदस्यका रूपमा स्वागत गर्दै कम्पनीका सुरेश लोहनीलाई रिसर्च, मिडिया तथा डेटा कमिटीमा सदस्यका रूपमा मनोनयन गरिएको छ।

साधारण सभाको समापन गर्दै अध्यक्ष वैद्यले सबै सदस्यप्रति धन्यवाद व्यक्त गर्दै नेपाली मोबिलिटी क्षेत्रको दीर्घकालीन विकास र उन्नतिका लागि नाइमा निरन्तर सक्रिय रहने प्रतिबद्धता व्यक्त गरे ।