१ हजार ८ सय ५९ रोपनी जग्गा अतिक्रमणमुक्त गराउने लक्ष्य छः बालेन्द्र साह


काठमाडाैँ । काठमाडाैँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहले महानगरले १ हजार ८ सय ५९ रोपनी सार्वजानिक जग्गा अतिक्रमणमुक्त गराउने लक्ष्य राखेको बताएका छन् । 

काठमाडौँ महानगरपालिकाले सोमवार टुँडिखेलमा आयोजना गरेको महानगर दिवसको अवसरमा आयोजित समारोहमा उहाले दुई खर्ब मूल्य बराबरको उक्त जग्गा फिर्ता गराउने लक्ष्य राखेको बताएका हुन्। उनले आफूहरू निर्वाचित भएर आएपछि २३ अर्ब रुपैयाँ मूल्य बराबरको २ सय ८ रोपनी बढी सार्वजानिक जग्गा फिर्ता गरेको जानकारी दिए ।

सार्वजानिक जग्गा फिर्ता ल्याउने कार्यमा सबैको सहयोग रहने उनले अपेक्षा व्यक्त गरे । उनले महानगरले दुई अर्ब ८६ करोड रुपैयाँ बराबरको पुर्वाधार योजना सम्पन्न गरेको पनि जानाकारी दिए । धुलोरहित कार्यक्रम अन्तर्गत ५५ वटा सडक सुधार र ६२ वटा चोकमा हाई मास लाईट जडान गरिएको उनले बताए ।

सडकबत्तिको गुणस्तर वृद्धि गर्न र रात्रिकालिन शहरी सौन्दर्य बढाउन ५ हजार तीन सय १८ वटा पोलमा १३ हजार ३ सय ४० वटा बत्ति राखेर शहरलाई उज्यालो बनाउन लागिएको पनि उनले जानकारी दिए ।

उनले महानगरले करिव ९१ करोड लागत बराबरको सम्पदा संरक्षण काम गरिएको पनि बताए । महानगरले १ हजार ८६ जना विपन्न नागरिकलाई उपचार गर्न सिफारिस गरेको र २१० जनालाई निःशुल्क उपाचार गरिएको पनि जानकारी दिए ।

उनले महानगरले चालु खर्च कम र पुँजीगत खर्च बढी गर्नेगरि काम गरिरहेको पनि जानकारी दिए । महानगरले वातावरण सुधार, धुलोरहित सडक, फोहोर व्यवस्थापन, व्यवस्थित र उज्यालो शहर निर्माणलाई विशेष प्राथमिकतामा राखेर कार्य गरिरहेको उनको भनाइ छ ।