काठमाडौँ । नेपाल राष्ट्र बैंकले महानगरभित्रका शाखा कार्यालय बन्द गर्न सहजीकरण गर्दै एकीकृत निर्देशन जारी गरेको छ ।
राष्ट्र बैंकले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन, २०८१ मा संशोधन, परिमार्जन र थप गर्दै शाखा कार्यालय बन्द गर्न सहज बनाएको हो ।
बैंक तथा वित्तीय संस्थाहरूले राष्ट्र बैंकको पूर्वस्वीकृति बिना शाखा वा कुनै पनि किसिमको कार्यालय बन्द गर्न वा स्थानान्तरण गर्न वा गाभ्न पाउने अवस्था थिएन । तर अब भने बैंक तथा वित्तीय संस्था स्वयम्ले निर्णय गरी महानगरपालिका भित्र रहेका शाखा समायोजन गर्न सक्ने भएका हुन् ।
अब विद्युतीय भुक्तानी कारोबार बढीरहेको तथा वित्तीय संस्थाको शाखा उल्लेख्य भए बैंक तथा वित्तीय संस्था स्वयमले महानगरपलिकामा रहेका शाखा समायोजन÷एकीकरण गर्न सक्नेछन् ।
यस्तै, सरकारी निकाय वा सार्वजनिक संस्था लक्षित गरी स्थापना भएको शाखाको हकमा उक्त संस्थाको लिखित सहमति पश्चात् शाखा समायोजन गर्न सकिने जनाइएको छ ।
शाखा समायोजन गर्नु भन्दा पहिलो सरोकारवालाको जानकारीका लागि कम्तिमा ९० (नब्बे) दिनको सूचना राष्ट्रिय स्तरको दैनिक पत्रिका, सम्बन्धित संस्थाको वेबसाइट र उक्त शाखाको सूचनापाटीमा समेत प्रकाशन गर्नुपर्ने उल्लेख गरिएको छ ।
दुई वा सोभन्दा बढी शाखाहरु समायोजन हुने अवस्थामा समायोजन हुने शाखाका ग्राहकले उक्त संस्थाको कर्जा चुक्ता गर्न चाहेमा वा अन्य सेवा बन्द गर्न चाहेमा कुनै पनि प्रकारका शुल्क नलिई कर्जा चुक्ता वा सेवा स्थगित गर्न सक्ने व्यवस्था मिलाउनु पर्ने जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्